हात्तीपाइले अभियानमा म्याद नाघेको औषधि



नेपाल समाचारपत्र, बाँके ।

हात्तीपाइले रोगको म्याद नाघेको औषधि बाँडिएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधी सेवन कार्यक्रमका क्रममा बाँकेमा म्याद नाघेको औषधि बाँडिएको हो।

डुडुवा गाउँपालिका वडा नं. २ उत्तरवाणीमा बाँडिएको औषधि म्याद नाघेको पाइएको हो। उत्तरवाणीका आज्ञाराम लोनिया, राजकुमार लोनियाको घरमा दिइएका औषधिको म्याद नाघेको थियो। आज्ञारामका १३ जना परिवार छन्।

तीमध्येमा नौ जनाले म्याद नाघेको औषधि खाइसकेका छन्। आज्ञारामले आफूहरूले खाने बेलामा औषधि पत्ताको खोलमा हेर्दा म्याद नाघेको मिति देखिएपछि नखाएको बताउनुभयो। ‘हाम्रो घरमा म्याद नाघेको औषधि आइपुग्यो। अर्को घरमा कस्तो छ भनेर राजकुमारको घरमा गएर हेरें। त्यहाँ पनि त्यस्तै थियो’, आज्ञारामले भन्नुभयो– ‘हामीलाई म्याद नाघेको औषधि खुवाउने कर्मचारीलाई कारबाही हुन्छ कि हुँदैन ?’

सरकारले राष्ट्रिय हात्तीपाइले रोगविरुद्धको अभियानमा डाइ इथाइल काब्रामेजिन औषधि बाँडिरहेको छ। लोनियाको घरमा डब्लु ६६३५८ नम्बर ब्याचको औषधि पुगेको थियो। जुन २०१९, ११ मा म्याद सकिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयले यो ब्याचको औषधि पछिल्लो दुई वर्षदेखि वितरण नगरेको जनाएको छ। कार्यालयका प्रमुख धीरजंग शाहले यो वर्ष डीएफ ८७१६ नम्बर ब्याचको औषधि वितरण गरेको जानकारी दिनुभयो। ‘यसको म्याद २०२१, १० महिना ३१ गतेसम्म रहेको छ। गत वर्ष एएल १९६१ नम्बर ब्याचको औषधि बाँडिएको थियो। जसको अवधि २०२०, १२ महिना ३१ गतेसम्म रहेको थियो।

म्याद गुज्रेको औषधि लोनियाद्वयको घरमा कसरी पुग्यो ?’, स्वास्थ्य कार्यालय प्रमुख शाहले भन्नुभयो– ‘दुई वर्षअघिको थियो कि भनेर हामीले खोज्यांै। त्यो पनि भेटिएन। कसरी पुग्यो हामी अचम्ममा परेका छौं।’

डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर बुढाले पुरानो औषधी स्टक नै नरहेको बताउनुभयो। स्वास्थ्य अधिकारीहरूले त्यो औषधि नै नरहेकाले जनताको घरमा कसरी पुग्यो आश्चर्य मानिरहँदा म्याद गुज्रेको औषधि खाएका लोनियाका घरपरिवार अब के हुने हो भन्ने डरमा रहेका छन्।

‘फाल्गुन ४ गते हाम्रो घरमा आएर औषधि दिए। ९ जनाले खाए। म्याद नाघेको औषधि रहेको थाहा पाएपछि हामी अब के हुने भनेर डरमा छौं’, आज्ञारामले भन्नुभयो– ‘मेरो श्रीमती जानकी लोनियालाई ज्वरो आएको छ। कतै त्यही औषधिले असर त गरेन ?’

दुई वर्षअघिसम्म महिला स्वयंसेविकाले घरघरमा गएर औषधि दिन्थे। घरपरिवारको संख्या गनेर पत्ता खोलेर गोली दिइन्थ्यो। यस्तो गर्दा धेरैले औषधि नखाएको पाइएपछि सरकारले स्वास्थ्यकर्मीलाई नै परिचालन गरेको छ। स्वास्थ्यकर्मीले पनि विश्वासका आधारमा औषधि छोडेर आउने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्