प्रदेशसभा सदस्यका आ–आफ्नै गुनासा



यमलाल भुसाल, बुटवल

प्रदेशसभा सदस्यहरुले जनताका आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा भएको लाप्रवाहीदेखि विकास योजनामा कर्मचारी तन्त्र हाबी भएको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश नं ५ को प्रदेश सभाको बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्य कूलप्रसाद पोखरेलले जनताले छनोट गरेका योजना भन्दा कर्मचारीहरुबाट छनोट गरेका योजनाले प्राथमिकता पाउने गरेको भन्दै जनताले छनोट गरेका योजनाहरुलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।

अष्टभुजा पाठकले एउटा वडामा परेको योजना मन्त्रालयका सचिवले अर्को वडामा सार्ने काम गरेको भन्दै सरकार जनप्रतिनिधिले चलाउने हो की कर्मचारीले भनि प्रश्न गर्नुभयो । त्यस्तै इन्द्र प्रसाद खरेलले संसदले बनाएका कानुनहरु अझै पनि जनपक्षिय हुन नसकेको भन्दै हाकिमको चित्त बुझे जनताले न्याय पाउने र हाकिमको चित्त नबुझे न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य बिजयबहादुर यादवले जनताका आधारभूत आवस्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा पनि गम्भिर लापर्बाही भएको भन्दै बाँकेको डुडुवामा म्याद गुज्रेको हात्तिपाइलेको औषधि खुवाउने स्वास्थ्यकर्मीलाई कार्बाही गर्न माग गर्नुभयो ।

‘गोरुसिंगे सन्धिखर्क सडक साघुरो भएका कारण सडक दुर्घटना बढेका उक्त सडक प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गर्नुपर्छ ।’ –प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले भन्नुभयो ।

प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धी कानूनमा संसोधन र एकिकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।

त्यसैगरी बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्