संघीय संसद् भवन निर्माण तीव्र गतिमा



मधुसूदन रायमाझी

सिंहदरबारभित्र निर्माण शुरू भएको संघीय संसद् भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। तीन वर्षभित्र सम्पन्न गर्ने गरी संसद् भवनको निर्माण कार्य अगाडि बढेको हो। निर्माण भएको ६ महिनाको अवधिमा लक्ष्यअनुसार काम अगाडि बढेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको छ।

विभागले चालू आर्थिक वर्षमा २० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। १ सय ७३ रोपनी ८ आनामा निर्माण हुने संसद् भवन निर्माणका लागि विभागले भ्याटबाहेक ५ अर्ब ३ करोड रुपियाँमा ठेक्का सम्झौता गरेको छ।

शहरी विकास तथा भवन निर्माण विभाग विशेष भवन आयोजनाका प्रमुख प्रकृण तुलाधरले निर्माण कार्य समयमै वा समयभन्दा अघि नै सम्पन्न होस् भनेर सरकारले निर्माण व्यवसायीलाई लाभांश वा जरिवाना दुवै व्यवस्था गरेको बताउनुभयो। उहाँका अनुसार एक दिनमात्रै चाँडो हुँदा २५ लाखसम्म लाभांश र एक दिन ढिला हुँदा त्यति नै रकम जरिवाना हुनेछ।

संसद् भवन निर्माणस्थलमा आठ मुख्य र चार सहायक गरी १२ भवनको निर्माण शुरू भएको छ। भवनको डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी तयार गरिएको छ। सुविधासम्पन्न र आधुनिक ढंगले निर्माण हुन लागेको संसद् भवन देशको पहिचान र मौलिकता झल्कने गरी निर्माण हुनेछ।

भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको छ। परिसरको ६० प्रतिशत क्षेत्रमा खुला हरियाली चौर, बगैंचा, पानीको फोहरालगायत रहनेछ भने बाँकी स्थानमा विभिन्न पूर्वाधारको निर्माण हुने तुलाधरले बताउनुभयो। संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुनेछ भने तीबाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने गरी डिजाइन गरिएको छ।

खुला स्थानमा हरियाली चौर, पानीको फोहरा, सार्वजनिक खुला चौरलगायतलाई प्रत्येक भवनको वरिपरि निर्माण गरिने बताउँदै आयोजना प्रमुख तुलाधरले डिजाइनमा आपत्कालीन अवस्थाको समेत ध्यान दिइएको बताउनुभयो। संसद् भवन भूकम्प, आगलागीजस्ता विपद्का समयलाई समेत केन्द्रमा राखेर निर्माण भइरहेको छ।

नयाँ बन्ने संसद् भवनमा अत्याधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्रै प्रवेश गर्न सकनेछ। भवनको मूल ढोका दक्षिणतर्फ रहनेछ भने संसद्को प्रवेशका लागि उत्तरतर्फ नयाँ गेट रहनेछ। दक्षिण–पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि गेट रहने गरी डिजाइन गरिएको छ।

प्रतिनिधिसभा भवनमा चार सय जना अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहनेछ। सो भवनमा तीन सय जना अटने हल हुनेछ, जुन हलमा पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र दुई सय जना अट्ने अर्काे हल हुने गरी डिजाइन गरिएको छ। राष्ट्रिय सभा भवनमा एक सय अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभाध्यक्षको कक्ष रहनेछ। साथै भवनमा दुई सय जना हट्ने बाल्कोनी र तीन सय अट्ने अर्काे हल रहनेछ।

प्रतिनिधिसभा भवनको उत्तरतर्फ पुस्तकालय अध्ययन कक्ष, ई–पुस्तकालय, संग्रहालय, प्रशासनिक कक्षसहितको चारतले पुस्तकालयको भवन निर्माण हुनेछ। मुख्य संसद् भवनको उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन र त्यसको दायाँतर्फ सानो छापाखाना रहने बताइएको छ। सो भवनलाई अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको इन्जिनियरिङ र आर्किटेक्चरल उपलब्धिका रूपमा परिचित गराउने उद्देश्य विभागले लिएको छ।

समयमा नै काम सम्पन्न गर्न लागेको छौं

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाले राष्ट्रिय महत्वको संसद् समयसीमाभित्र नै निर्माण सम्पन्न गर्नका लागि आफूहरू लागिपरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘लक्ष्यअनुसारकै काम धमाधम अगाडि बढेको छ, यही गतिमा काम अगाडि बढाउँछौं र सकेसम्म समयसीमाअघि नै सम्पन्न गर्ने योजना बनाएका छौं।’ उहाँका अनुसार निर्माणस्थल घेर्ने कार्य सम्पन्न हुनुका साथै परिसरमा रहेका रूख काट्ने काम सम्पन्न भएको छ।

१२ वटा ब्लकमध्ये ६ वटा ब्लकहरूको जगको कार्य शुरू भएको बताउँदै महानिर्देशक गेलालले निर्माणस्थलका लागि छुट्टै प्रवेश मार्गसमेत खोजिएको बताउनुभयो। संसद् भवन निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीहरूको ल्याब परीक्षण गरी प्रयोगशालासमेत सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। गुणस्तरीय भवन निर्माण गर्नका लागि निर्माणमा प्रयोग हुने हरेक वर्षको गुणस्तर परीक्षण गरेर मात्र प्रयोगमा ल्याइने महानिर्देशक गेलालले बताउनुभयो।

गुणस्तरमा कमी हुन नदिन सभामुख सापकोटाको निर्देशन

सभामुख अग्नि सापकोटाले निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्नुभएको छ। सभामुखमा निर्वाचित भएपछि संसद् भवन निर्माण कार्यका बारेमा जानकारी लिँदै समयसीमाभित्र नै सम्पन्न गर्न निर्देशन दिनुभयो।

भ्रमणपछि सभामुख सापकोटाले निर्माणको काम सन्तोषजनकरूपमा अघि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो। तोकिएको समयअघि नै काम सकिने विश्वास व्यक्त गर्दै गुणस्तरमा कुनै कमी हुन नदिनसमेत उहाँले निर्देशन दिनुभयो।

अवलोकनको क्रममा सभामुख सापकोटाले राख्नुको जिज्ञाशाको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्