चुरे संरक्षणमा सहयोग गर्ने मन्त्रीको प्रतिबद्धता



काठमाडौं, (नेस)

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले चुरे संरक्षणमा सहयोग हुने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले चुरे संरक्षणसम्बन्धी आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै सो प्रतिबद्धता जनाउनुभएको हो।

चुरेको वर्तमान अवस्था, समस्या, चुनौती र भावी कार्यदिशा तय गर्न गोष्ठीको आयोजना गरिएको समितिले जनाएको छ। ‘चुरे क्षेत्रको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ। यसमा बजेट अभाव नहोस् भनेरै राष्ट्रिय गौरवको योजनामा पारेको छ। मेरो मन्त्रालय चुरे संरक्षणका लागि प्रतिबद्ध छ’ –मन्त्री पुनले बताउनुभयो।

उहाँले अन्तर मन्त्रालय, निकायहरूबीच समन्वयको अभाव भएको भन्दै आपसी समन्वयबाट चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो।

यस्तै, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विविध चुनौतीबीच चुरे क्षेत्रको संरक्षणको राम्रो काम भएको बताउनुभयो। उहाँले चुनौतीलाई चिर्दै संरक्षणमा लाग्न सबैलाई आह्वानसमेत गर्नुभयो।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले मानिसकै कारण चुरे क्षेत्रमा समस्या देखिएकाले मानिसबाटै समाधान गर्नुपर्ने धारणा राख्नुभयो। समितिका अध्यक्ष वीरेन्द्र यादवले चुरे संरक्षण गर्नु अपरिहार्य रहेको बताउनुभयो।

चुरे पहाडको वन, माटो, ढुंगा, बालुवाजस्ता प्राकृतिक स्रोतहरूको दिगो संरक्षण र व्यवस्थापन अझै हुन सकेको छैन। नेपालको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या चुरे क्षेत्रमा बसोबास गर्छन्। चुरेको संरक्षण गर्न भन्दै ०६६/६७ सालदेखि संरक्षणको कार्यक्रम थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्