पप्पुसहित ६ कम्पनी कालोसूचीमा



काठमाडौं, (नेस) ।

नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो समयसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेको कार्यालयले जनाएको छ। कार्यालयले पप्पुलाई तीन वर्षसम्म र अन्यलाई भने एक वर्षसम्म कालोसूचीमा राखेको छ।

कालोसूचीमा पर्नेमा पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनसहित अशोक न्यासुरको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन्।

कालोसूचीको अवधिभर यी ठेकेदार कम्पनीले सार्वजनिक निकायले अघि बढाउने कुनै पनि खरिद प्रक्रियामा सहभागी जनाउन नमिल्ने प्रावधान छ। पप्पुलाई सडक विभागअन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कालोसूचीमा राख्न सिफारिस गरेको कार्यालयले जनाएको छ।

निशालाई टिम्बर कर्पाेरेसनले, श्रीदेवलाई प्रहरी प्रधान कार्यालयले, सूर्याेदय निर्माण र बारा कन्स्ट्रक्सनलाई मेलुङ गाउँपालिकाले र एचबीकेसीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्