इटालीको मिलानमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ



दिपेन्द्र गजुरेल, स्पेन ।

इटालीको मिलान शहरमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उदघाटन गरी शुभारम्भ गरिएको छ ।

मिलान शहरको प्रसिद्ध पर्यटकीय क्षेत्र दौमोको तेरेज्जा मार्तिनीमा मंगलबार नेपाली वाणिज्य दूतावास इटाली र नेपाली राजदूतावास स्विटजरल्याण्डको आयोजनामा त्यहाँस्थित गैरआवासीय नेपाली संघ इटाली र विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उदघाटन गरीएको हो ।

नेपाली दुतावास स्विजरल्याण्डका राजदुत मणिप्रसाद भट्टराईले बत्ति बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा भट्टराईले नेपाल विश्वकै एक सुन्दर, शान्त र मनोमोहक पर्यटकीय क्षेत्र भएकाले इटालीयनहरूलाई एक पटक भ्रमण गर्नै पर्ने बताए । इटालीका लागि वाणिज्य दूत पाओलो नुगारी तथा एनआरएनए इटालीका अध्यक्ष देवराज गुरुङ लगायतले नेपाल घुम्न पर्ने एक सुन्दर राष्ट्र रहेको मन्तब्य व्यक्त गरेका थिए ।

स्थानीय नेपाली कलाकारहरू बिना पुन, अनुस्का सुबेदी र स्वेता सुबेदीले विभिन्न भाषाका मौलिक सांस्कृतिक झल्कने नाचँमा आआफ्नो प्रस्तुत दिएका थिए । कार्यक्रममा नेपाली खानाको व्यवस्था गरिनुका साथसाथै भ्रमण वर्षको प्रचार प्रसारमा विभिन्न सामग्रीहरु समेत वितरण गरिएको थियो ।

कार्यक्रममा इटालीका पत्रकार, लेखक, फोटोग्राफर, फिल्म निर्माता स्तेफानो अर्दितो, पर्वतारोही, अल्पाइन अन्तर्राष्ट्रिय गाइड, अन्वेषक मार्को कोंफोर्तोला, मेरिडियानी पत्रिका निर्देशक मार्को कासारेतोको समेत उपस्थिति रेहेको थियो ।

कार्यक्रममा बोल्दै राजदूत भट्टराईले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र पर्यटन वर्ष २०२० अभियानलाई सफल बनाउन विश्वभर रहेका नेपालीहरूले आ आफ्नो क्षेत्रबाट उच्च महत्वका साथ लाग्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा सहभागी एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलले नेपाल सम्बन्धि विभिन्न सामाजिक संघ संस्था तथा नेपाली दुतावासहरूले बेला बेलामा कार्यक्रम गर्दा प्रवासमा बस्नेहरू नेपालीहरुमा अझैँ बढी उत्साह थपिने बताए । भ्रमण वर्ष मात्रै नभएर हरेक दुई दुई महिनामा नेपाल चिनाउने कार्यक्रम गर्नुपर्नेमा कँडेलले जोड दिए ।

एनआरएनए ईटालीका महासचिव भवेश कुमार सिंहले छिट्टै विभिन्न सामाजिक संघ संस्थाहरूले पनि नेपाल भ्रमण वर्षको कार्यक्रम सफल बनाउन अन्य पर्यटकीय शहरमा विविध कार्यक्रम गर्ने योजना रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्