जिल्लाकै नमुना विद्यालयमा शिक्षकको अभाव



न्युज अफ नेपाल, पर्वत । 

विगत दुई वर्षअघिसम्म विद्यार्थीको अभावमा अन्यत्रै गाभ्ने सूचिमा रहेको यहाँका एक विद्यालय एकाएक जिल्लाकै नमुना बनेको छ ।

जिल्लाको फलोवस नगरपालिकाले गाभ्ने सूचीमा अग्रस्थानमा राखेको फलेबास–४ को गहते अम्बोट आधारभूत विद्यालयको चर्चा अहिले जिल्लाभर सुनिन्छ । एकै शैक्षिक सत्रमा ५० भन्दा बढी विद्यार्थी बढाएर उक्त विद्यालय जिल्लामै नमुना विद्यालयको सूचीमा पर्न सफल भएको छ । तर, सोही विद्यालय अहिले शिक्षक अभावको चरम समस्यामा परेको रहेको छ ।

शैक्षिक सुधारमा चामत्कारिक परिवर्तन गरेको विद्यालयमा आधारभूत तहकै शिक्षकको अभाव भएको हो । विद्यालयमा बालकक्षादेखि कक्षा ८ सम्म पढाइ हुने गरेको छ । हाल विद्यालय कक्षा १–५ सम्मका शिक्षक दरबन्दीकै भरमा चलिरहेको छ । थप दुई शिक्षक भए पुग्ने विद्यालयले जनाएको छ । ‘हामीलाई मुख्य चुनौती विज्ञान र गणित विषयको हो,’ शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेलले भन्नुभयो । शैक्षिक गुणस्तरमा जिल्लामै सर्वोत्कृष्ट बनाउनेगरी लागिपरेका अभिभावक र शिक्षकहरूले हरेक दिन अतिरिक्त २ घण्टा अध्यापन गराउँदै आएका छन । ‘बिहान ९ देखि बेलुका ५ बजेसम्म सबै शिक्षक खट्नुभएको छ,’ प्रधानाध्यापक ओमकार पौडेलले भन्नुभयो, ‘त्यसबापत कुनै अतिरिक्त शुल्क लिनुभएको छैन । विद्यार्थीको नतिजा नै हाम्रो आम्दानी ठानेका छौँ,’ उहाँले भन्नुभयो ।

त्यसबाहेक स्थानीय भवानी तिवारीले विद्यालयमा स्वयंसेवी रुपमा गणित र विज्ञान विषय पढाउँदै आउनुभएको छ । विद्यालयको आर्थिक अवस्था नभएकै कारणले स्वयंसेवी अध्यापन गर्दा पनि सन्तुष्ट भएको उहाँले बताउनुभयो । फलेवास नगरपालिकाले २०७४ भदौमा नगरका १३ विद्यालय गाभ्ने निर्णय गरेको थियो । त्यसमा थियो गहते अम्बोट पनि थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर, प्रअ पौडेल लगायतले नगरपालिकासँग एक वर्षको समय माग्नुभएको थियो ।

‘त्यो शैक्षिक सत्र चलिरहेको थियो,’ प्रअ पौडेलले भन्नुभयो, ‘हामीले नगरपालिकालाई आगामी शैक्षिक सत्रसम्मका लागि पर्खन भन्यौँ । भदौदेखि नै शैक्षिक सुधारमा खट्यौं ।’ व्यवस्थापन समिति अध्यक्ष सहित पदाधिकारी, शिक्षक अभिभावक संघ, शिक्षक र स्थानीय समुदायको प्रयासमा केही महिनामै बदलिएको विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीको लर्को लागेको हो ।

निजी विद्यालय छोडेर आउने नयाँ विद्यार्थीको संख्यामात्रै ५० नाघेको थियोि । पहिले विद्यालयमा २३ पुराना विद्यार्थी थिए । नयाँ सत्रमा उर्लिएको विद्यार्थीको लहरले सबैलाई उत्साहित बनाएको छ । विद्यालयमा तत्कालीन प्रावि (१–५ कक्षा) का ७ शिक्षकको दरबन्दी रहेको छ । विद्यालयले ११ वटा कक्षा सञ्चालन गरेको छ । विद्यालयले राष्ट्रिय आविष्कार केन्द्रसँगको पहलमा स्मार्ट बाल उद्यान बनाएर उद्यानमै स्मार्ट कक्षा सञ्चालनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्