फागुण १४ र १५ मा सम्यक महादान

‘पर्व संरक्षणमा स्थानीय तह उदासिन’



न्युज अफ नेपाल, ललितपुर । 

पाँच वर्षमा एकपटक ललितपुरमा हुने सम्यक महादान पर्व यही फागुण १४ र १५ हुने भएको छ ।

हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा सो पर्व हुन लागेको हो । यस पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिईन्छ । सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ ।

वि सं १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सो पर्व १८६२ साल देखि प्रत्येक पाँच वर्षको एकचोटी सञ्चालन हुन थालेको हो । तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आयस्ता कम भयो । यसले गर्दा पाँच वर्षको एकचोटी सो पर्व आयोजना गर्न थालिएको हो । अब हुन लागेको पर्व ५३ औं हो ।

यस पर्व सञ्चालनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनसम्पर्क तथा प्रचारप्रसार संयोजक लोकमान शाक्यले बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको संयोजनमा सो पत्रकार भेटघाट भएको थियो ।

यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको संस्कृति अध्येयता लोकरत्न शाक्यले पत्रकार भेटघाटमा बताउनुभयो ।

पर्वका पहिलो दिन राति काठमाडौं उपत्यका विभिन्न विहार र महाविहारबाट ल्याइएका १ सय २६ देवी देवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिने छ । त्यसपछि दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा लगायत देवीदेवताहरुलाई परम्परागत बाजागाजाका साथ इतिहल्हने (नागबहालमा) लगिने छ ।

परम्परा अनुरुप फागुण १४ गते बुधबार बेलुकी ७ बजेदेखि देवीदेवतालाई क्रमबद्ध राख्न शुरु गर्ने र १० बजे सम्यक महादान हुने मुख्य स्थान नागबहालमा लगिने संयोजक शाक्यले बताउनुभयो । त्यसको भोलिपल्ट अर्थात फागुण १५ गते विहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (बीस स्थविर आजु) ले विशेष पुजाआजा गरी दान दिने परम्परा रहेको छ । यही दान दिने कार्य नै पर्वको मुख्य सार रहेको अध्ययेता शाक्यले बताउनुभयो ।

यस पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यसपर्वको शुरुआतसंग एउटा किवदन्ती चलनचल्तीमा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो।भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले । भरिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए । धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो ।धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ ।

पर्वमा रोटी दान दिनको लागि धार्मिक विधि पूर्वक चुल्हो बनाउने, र फागुण ६ गते नागबहालमा रहेको वासुकी नागराज र चम्पक नागराजको पुजा गरिएको थियो । फागुण ८ गते विहीबार योसि द्यः ठड्याउने कार्यक्रम रहेको पनि संयोजक शाक्यले बताउनुभयो ।

‘पर्व संरक्षणमा महानगरपालिकाकाे ध्यान गएन’

यस्तो अर्मूत संस्कृतिको धरोहरको संरक्षणमा ललितपुर महानगरपालिकाले उदासिनता देखाएको समितिका अध्यक्ष विकासरत्न धाख्वाले पत्रकार भेटघाटमा बताउनुभयो ।‘ललितपुरलाई सांस्कृतिक नगरी बनाउने भन्ने कुरो भाषणमा खुबै सुनिन्छ । तर पर्वको संरक्षण तर्फ महानगरपालिकाका जनप्रतिनिधिहरुको ध्यान गएको देखिएन । यस्तो तरिकाले सांस्कृतिक नगरी कसरी बन्छ ?’ अध्यक्ष धाख्वाले भन्नुभयो ।

१६ वडाबाट २ लाख ५० हजार सहयोग गरेको लाई नै महानगरपालिकाले गरेको सहयोग भनेर सम्झिनुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष धाख्वाले भन्नुभयो ‘जबकी पर्व सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ आवश्यक पर्दछ । ’

प्रतिक्रिया दिनुहोस्