‘इतिहास बिर्सनेले इतिहास निर्माण गर्न सक्दैनन्’ : अध्यक्ष थापा



न्युज अफ नेपाल, हेटौंडा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले इतिहास बिर्सनेहरुले आफ्नो इतिहास पनि निर्माण गर्न नसक्ने बताउनुभएको छ । उहाँले २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने त्रिभुवनलाई प्रमुख दलहरुले बिर्सिएको र भविष्यका युवापुस्ताले इतिहास अनुसन्धान र अध्ययनबाट बञ्चित हुँदा नेपालको अस्तित्व लोप हुने खतरा बढेको बताउनुभयो ।

प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले आयोजना गरेको प्रवचनमा अध्यक्ष थापाले देशमा गणतन्त्र आएको अबस्थामा राजा र राजसंस्थासँग गाँसिएको इतिहासलाई वर्तमान सरकारले निषेध गरेको आरोप लगाउनुभएको हो ।
अध्यक्ष थापाले राष्ट्रको मौजुदा संविधान, गणतान्त्रिक प्रजातन्त्रलाई दीगो र सर्वमान्य तुल्याउन संघीय सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा संकट आइपर्ने टिप्पणी गर्नुभयो ।

‘राष्ट्रपति र प्रधानमन्त्रीलगायत नेताहरुले दिवसका अवसर पारेर मन्तव्य पढे तर राजा त्रिभुवनप्रति श्रद्धाञ्जलीका निम्ति एक शव्द पनि खर्च गर्न चाहेनन्,’ भन्दै थापाले दुःख व्यक्त गर्नुभयो–यस्तो संकीर्ण मानसिकताले प्रजातन्त्रलाई बलियो बनाउन सकिँदैन ।

मुलुक एकीकरण गर्ने राष्ट्रनिर्माता, प्रजातन्त्रका निमित्त अग्रणी भूमिका खेल्ने राष्ट्रपिता एवम् एउटा संस्थासँग मात्र सम्बन्धित व्यक्तित्व होइनन्, ती इतिहास कोर्ने युगपुरुष हुन्, जसको त्यसबेला जन्म नभएको भए आज हामीले नेपाली भनेर हिँड्ने अबस्था र प्रजातन्त्रप्राप्तिका लागि लड्न कति संघर्ष गर्नुपथ्र्यो, त्यो हामीले अनुमान लगाउने कुरालाई तीतो यथार्थलाई मान्न आग्रह गर्नुभयो । ‘योगदानको चर्चा गर्दा गणतन्त्र कमजोर हुन्छ जस्तो मलाई लाग्दैन,’ उहाँले भन्नुभयो ।

प्रजातन्त्र दिवस केवल एक दिन औपचारिकता निर्धारण गर्ने पर्वमा मात्र नलिन उहाँले आग्रह गर्नुभयो । दिवसलाई कसरी जीवनोपयोगी बनाउने र आमजनताको आत्मउन्नति अभिवृद्धि गर्न माध्यम कसरी बनाउनेबारे चर्चा हुनु आवश्यक रहेकोमा उहाँको जोड थियो ।
उहाँले २०६२/६३ पछि राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सकारात्मक परिवर्तनको अभाव रहेको बताउँदै राज्य सञ्चालन गर्ने नेतृत्वले यसतर्फ ध्यान दिनुपर्ने सुझाउनुभयो ।

अध्यक्ष थापाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो तर साम्यवादी व्यबस्था नभएको जिकिर गर्नुभयो । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका थापाले भ्रष्टाचार नियन्त्रित गर्न कानुनले मात्र नभएर राजनीतिक दलहरुको नेतृत्वको छवि पनि स्वच्छ हुनुपर्ने बताउनुभयो ।
सहमहामन्त्री राजाराम बर्तौलाले नेपाली जनताले प्रजातन्त्रको अभ्यासलाई अनुभव गर्न नसकेको बताउनुभयो । प्रजातन्त्रका नाममा राज्यमा असभ्य प्रवृत्ति हावी भइरहेको बताउँदै उहाँले राज्यसत्ता सम्हालिरहेको नेतृत्वले प्रजातन्त्रको सही तरिकाले अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो । ‘प्रजातान्त्रिक अभ्यासमा राष्ट्रियता बलियो बनाउन सक्नुपर्छ, सबल र स्वाधिन नेपाल निर्माण गर्नसक्ने अभ्यास हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

राप्रपा नेता सीताराम बर्तौलाले प्रजातन्त्र शव्दमा मात्र सीमित रहेको भन्दै प्रजातन्त्र रोइरहेको, प्रजातन्त्र कोठामा खुम्चियर गएको भन्दै थप्नुभयो–मुलुकमा अपराधीहरुको भ्रष्टतन्त्र, लुटतन्त्र, छाडातन्त्र व्याप्त छ । सरकारले प्रजातन्त्रको खिल्ली उडाएकोप्रति उहाँको आक्रोश छ ।

हाल सरकारले राष्ट्रसेवकलाई पेन्सन खुवाउनसमेत विदेशी मुलुकसँग ऋण लिनुपर्ने अबस्था आएको भन्दै उहाँले संविधानलाई मुर्कुट्टासरह बनाएर ह्विप जारी गरी पास गरिएको संविधान जनताको हुन नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा पार्टी मकवानपुर अध्यक्ष मधु अधिकारी, उपाध्यक्ष गुञ्जनबहादुर न्यौपाने, हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपा केन्द्रीय सदस्य प्रनिता थापा, प्रजातान्त्रिक महिला संघ मकवानपुर अध्यक्ष बालकुमारी डल्लाकोटीलगायत पार्टी कार्यकताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्