भ्रष्टाचार आरोपमा पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय



सोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधवार खारेज गरिदिएको हो ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र १ करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो ।

सोलस्थित् अदालतमा बुधवार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घूस लिएर माफी दिएका थिए ।

अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्