सेलिब्रेटीले आफैं रचेर सुनाए प्रेमका कविता



 प्रमिशा पाठक
विभिन्न क्षेत्रका एक दर्जनभन्दा बढी सेलिब्रेटी राजधानीमा प्रेम कविका रूपमा प्रस्तुत भएका छन्।
कुरा केही दिनअगाडिको हो, शुभदिन मिडिया एन्ड रिसर्च सेन्टरले प्रेम दिवसको अवसर पारेर आइ एम अ पोइट इन लभ अर्थात् मायामा परेको म एउटा कवि विषयमा भएको कविता वाचन कार्यक्रममा पूर्वप्रधानसेनापती रुक्मांगत कटुवालदेखि सीएनएन हिरो अनुराधा कोइरालासम्म, खेलाडी आयशा शाक्यदेखि अभिनेत्री दीपाश्री निरौला र गौरी मल्लसम्मले प्रेमिल कविता वाचन गरेर सबैलाई मोहित तुल्याए।
कार्यक्रममा प्रदेश–३ की पूर्वप्रमुख, माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो अनुराधा कोइराला, पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल, अधिवक्ता एवं संविधानविद् भीमार्जुन अचार्य, पत्रकार बबिता बस्नेत, साहित्यकार एवं निर्देशक प्रकाश सायमी, अभिनेत्रीहरू गौरी मल्ल, दीपाश्री निरौला, श्वेता खड्का, सांसद एवं गायिका कोमल वली, सागकी स्वर्ण पदक विजेता आयशा शाक्य, कार्यक्रम प्रस्तोता नरेश भट्टराई, साझा पार्टीकी नेतृ रञ्जु दर्शना, डा. सुवास आचार्य र सृष्टि केसीले प्रेम–भावनाका कविता वाचन गरेर भ्यालेन्टाइन डेलाई विशेष उपहार दिएका थिए।
कार्यक्रममा बोल्दै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले कविता वाचनभन्दा फिल्म बनाउनै सजिलो भएको बताइन्। ‘मेरो कविता प्रेमकै उपलक्ष्यमा छ, यो मेरै अनुभव हो। सबैले मलाई हास्ने फिल्म बनाउँछिन् भन्नुहुन्छ तर मभित्र एकदमै मार्मिक कथा लुकेको छ त्यो म आज भन्न चाहन्छु’,
समारोहलाई सम्बोधन गरिसकेपछि दीपाश्रीले आफ्नो कविता सुनाइन् –
उमेश र म, निकै माया थियो हाम्रो,
पोहोर भ्यालेन्टाइन डेमा मेरो फोटो सेयर गर्दै लेख्यो
जानु, तिम्रो र मेरो सम्बन्ध जन्मजन्मको हो।
आज सबेरै त संगीताको फोटो सेयर गरेछ।
समारोहमा एकाएक हाँसो गुन्जिन पुग्यो। दीपाश्रीले फेरि सुनाइन् –
प्रत्युत्तरमा मैले केही भनिनँ
विवेकसँगको फोटो सेयर गर्दिम्म कि जस्तो पनि लाग्या थियो
फेरि सोचें पाँच वर्षअघिको पुरानो प्रेम हो
निको भइसकेको घाउ किन कोट्याउनु?
अनि राकेशसँगको फोटो सेयर गर्दिएँ
मेरो प्रेम मेरो भविष्य हो।
अभिनेत्री श्वेता खड्काले सुनाइन् –
दुई शब्द प्रेम हो यो पाए काफी हुन्छ
जिन्दगीमा एकबार लाए काफी हुन्छ
संगीतको सुरभित्र गुन्जिन्छ नि प्रीत
लय ताल मिलाएर गाए काफी हुन्छ
जिन्दगीमा एकबार लाए काफी हुन्छ।
त्यसपछि सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले आफ्नो कविता सुनाए। अभिनेत्री पत्नी मुना कार्कीका साथ आएका भट्टराईले कतारको ट्रान्जिटमा हुँदा लेखेको म अचेल प्रेममा परेको छु शीर्षकको कविता सुनाए –
म आफैमा रम्ने भमरा
कहिले एकान्त, एक्लो नबस्ने म
अहिले एकान्त रोज्ने भएको छु।
एक्लै गुनगुनाउने भएको छु मुस्कुराउने भएको छु
किन थाहा छ, म अचेल प्रेममा परेको छु।
अनुरोध कोइरालाले कवितामा माया दर्साइन् –
माया ग्रीष्मलाई वर्षात् हो
माया हिउँदलाई घाम हो
माया वसन्तलाई पालुवा हो
माया नदीलाई बालुवा हो
माया सागरलाई मणि हो
माया गगनलाई बादल हो
माया नङलाई मासु हो
माया नयनलाई आँसु हो।
त्यसै गरी पूर्वप्र्रधानसेनापती रुक्मांगत कटुवालले सुनाए –
प्रश्न एकै छ आजतक यहाँ
के हो त्यो प्रेम भन
सृष्टिका शुरुआती दिनदेखिको
सबको छ यही तन
ब्रह्मा, विष्णु, महेश्वरदेखि सबै
एडम रही भए पनि
खोेज्छन् यस धरधाममा
कुनाकुनी कहाँ छ प्रमै भनी।
राजनीतिज्ञदेखि सुरक्षा निकायका उपल्लो दर्जाका व्यक्ति, समाजसेवीदेखि कलाकारसम्मले सम्भवतः एकै स्थानमा प्रेमको विषयमा कविता वाचन गर्न लागेको सम्भवतः पहिलो हो। सबै क्षेत्रका सेलिब्रेटीले आफुद्वारा रचित कविता यसरी सुनाए कि साँच्चै उनीहरू प्रेमकवि हुन्।

प्रतिक्रिया दिनुहोस्