जावलाखेल सेमिफाइनलमा



हेटौंडा, (नेस)।
मकवानपुरको बाग्मती गाउँपालिकामा जारी तेस्रो बाग्मती गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब सेमिफाइनल प्रवेश गरेको छ।
मकवानपुरको लिगलिडर डाँफे युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै जावलाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो। सेमिफाइनलमा जावलाखेलको भेट संकटा र वीरगन्ज युनाइटेडबीचको विजेतासँग हुनेछ। जावलाखेलको जितमा दुवै गोल गरेर सुजित बुढाथोकी नायक सावित भए।
१४औं मिनेटमा बुढाथोकीको गोलबाट जावलाखेलले अग्रता लिएको थियो। उनले फोफना फोडेको क्रसमा डीबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
बुढाथोकीले २८औं मिनेटमा दोस्रो गोल गरे। उनले मकवानपुरका डिफेन्डरबीच तालमेल अभाव भएको मौका छोप्दै डीबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।
६०औं मिनेटमा जावलाखेलका रवि लामाको आकर्षक बल मकवानपुरको गोलपोस्ट नजिकबाट बाहिरिएको थियो। बुढाथोकीले म्यान अफ दि म्याच घोषित हुँदै नगद पाँच हजार रुपियाँ प्राप्त गरे।
यस्तै, गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई फापरबारी–७ का राजनीतिकर्मी÷समाजसेवी टेकबहादुर डिम्डुङले ५० हजार दिने घोषणा गरेका छन्। नेकपा बाग्मती गाउँपालिका सदस्य डिम्डुङले खेलक्षेत्रका लागि सदैव सहयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्