भैंसी चोर्ने गिरोह पक्राउ



नेपाल समाचारपत्र, स्याङ्जा।
वडा प्रहरी कार्यालय वालिङले भैंसी चोर्ने गिरोह पक्राउ गरेको छ। फागुन ३ गते राति भीरकोट १ बस्ने तेजबहादुर केसीको दुई वर्षको पाडी र फागुन ४ गते राति भीरकोट २ बस्ने जमुना केसीको ७ वर्षको लहिनो भंैसी गोठबाटै चोरी भएको थियो।
भंैसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जिपसहित दुईजनालाई पक्राउ गरेको थियो। प्रहरीले भीरकोट २ बस्ने वर्ष २४ को अजमत अली र सोही जिपमा सवार वर्ष २७ का महमद अलीलाई पक्राउ गरेको थियो।
ग १ ज ५८४१ नम्बरको जिपमा भैंसी र पाडी बयरघारीतर्फ ल्याउँदै गर्दा प्रहरीले सोधपुछ गरेपछि भंैसी किनेको खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। तेजबहादुर र जमुनालाई बोलाइ भंैसी पाडी देखाउँदा निजहरूले आफ्नो बताएपछि जिपसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताउनुभयो।
प्रहरीले भैंसी चोरीमा संलग्न भएका अलीद्वयलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालेको जनाएको छ। दुई तीन वर्षअगाडि देखि भैंसी चोरीको घट्ना हुँदै आएको खुलेको छ ।प्रहरी निरीक्षक घिमिरेले भन्नुभयो, ‘चोरीको घटनामा अन्य व्याक्तिहरू पनि संलग्न छन् या छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। भंैसी चोरी गर्ने घटनामा ठूलै गिरोह हुन सक्ने शंका उत्पन्न भएको छ’ –उहाँले भन्नुभयो।
भंैसी चोर्ने घटना भने स्याङ्जामा यो पहिलो हो। मानिसले भंैसी हराएको मानेका कारण पनि खासै यो बाहिर नआए पनि यो घटनाले भने सबै तथ्य पत्ता लगाउनेमा प्रहरी विश्वस्त रहेको छ। अन्य सामग्री चोरीका घटना आए पनि भंैसी चोरीको घट्ना भने जिल्लामा पहिलो भएको हुनसक्ने प्रहरीले जनाएको छ। भंैसी चोरी भएको उजुरी प्रहरीकोमा आउनासाथ प्रहरीले २४ घण्टामा चोर पक्राउ गर्नुले प्रहरीले सफलता हासिल गरेको स्थानीयले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्