स्कुल पुनर्निर्माणमा भारतीय सहयोग 



नेपाल समाचारपत्र, काठमाडौं ।
भारतको रुड्कीमा केन्द्रीय कार्यालय रहेको केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्पपश्चात् विद्यालय एवं अन्य शैक्षिक संरचनाको पुनर्निर्माणको बारेमा मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ।
नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) सँग सहकार्य गरी यो कार्यशालाको आयोजना गरिएको हो। कार्यशालामा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का अधिकारी, ठेकेदार ,साइट इन्जिनियरलगायत सम्बन्धित सरोकारवालाको उपस्थिति रहको थियो।
निर्माणमा उत्कृष्ट गुणस्तर प्राप्त गर्नका लागि परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङजस्ता पक्षहरू समेट्दै परियोजनाको प्रभावकारी कार्यान्वयनका निमित्त मार्ग प्रशस्त गर्न सो कार्यशालाको आयोजना गरिएको हो।
परियोजनाको पूर्वनिर्माण, निर्माण र निर्माणपश्चात्का सबै चरणमा शुरूदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य रहेको छ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौडेल, उप–आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवं भारतीय राजदूतावासका वरिष्ठ अधिकारीको उपस्थिति रहको थियो। शिक्षा क्षेत्रमा भूकम्पपश्चात्को सहायताअनुरूप भारत सरकारले ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पु¥याइरहेको छ।
केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले नेपालका सात जिल्लाहरू (गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक) मा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण हेतु डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको छ।
वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद्अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्की एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै आवास योजना, निर्माण सामग्री, संरचना, जग निर्माण तथा विपद् न्यूनीकरणजस्ता क्षेत्रमा अनुसन्धान गर्ने एक शीर्षस्थ संस्था पनि हो।
विपद्–उत्थानशील पुनर्निर्माणमा नेपाल सरकारको नीति निर्देशनअनुसार शैक्षिक संरचनाहरूको पुनर्निर्माण र प्रवलीकरणका लागि यस केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइसँग काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्