नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक लोकप्रिय 



नेपाल टेलिकमले उपलब्ध गराएको विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक लोकप्रिय रहेको कम्पनीको दाबी छ।
टेलिकमका अनुसार हाल उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक ग्राहकद्वारा निकै रुचाइएका छन्।
एक घण्टा अनलिमिटेड प्याक २० रुपियाँमा लिन सकिन्छ। प्याक एक्टिभ भए पश्चात एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ। एक घण्टासम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकाले यो प्याक निकै नै रुचाइएको छ।
त्यस्तै डे टाइम भ्वाइस प्याकअन्तर्गत १५ रुपियाँमा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ। सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ। उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजेसम्म र भोलि विहान फेरि १० बजेसम्म प्रयोग गर्न सकिन्छ।
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १२ रुपियाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ। रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ।
अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत एक रातका लागि १८ रुपियाँमा अनलिमिटेड डाटा राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ।
त्यसैगरी ९० रुपियाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ। रातको समयमा डाटा चलाउनुपर्ने व्यवसायीका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्