विराट एक्स्पोमा चार दिनमै २० करोडको कारोबार 



नेपाल समाचारपत्र, विराटनगर। 
विराटनगरमा जारी विराट एक्स्पोमा चार दिनमै २० करोड रूपियाँबराबरको कारोबार भएको छ। एक्स्पोमा १ अर्ब रूपियाँको कारोबार हुने आयोजकको अनुमान छ। उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–२ स्थित शंकरपुरमा जारी एक्स्पोलाई विविधता दिन पहाड, हिमाल र तराईका आन्तरिक उत्पादनसँगै अन्तर्राष्ट्रिय उत्पादनलाई पनि राखिएको छ।
सोमबारसम्म २० करोड रूपियाँको कारोबार भइसकेको संगठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो। सबैजसो स्टलमा दर्शकको भीड देखिन्छ। बढी मात्रामा खाद्यन्न, लत्ताकपडा, अटोमाबाइल्स, जुत्ताचप्पल, प्लाष्टिकका भाँडाको कारोबार भएको घिमिरेको भनाइ छ। खानाका परिकारमा समेत दर्शकको चाप छ।
‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ शुरु भएको एक्स्पोमा ३ सय ४० वटा स्टल छन्। जसमा भारत, बंगलादेश, भुटान र पाकिस्तानका ४० वटा स्टल छन्। एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारका योजनाका कारण दर्शकको भीड थामिनसक्नु भएको मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलाल (भोला) बताउनुहुन्छ।
एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेका छन्। एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरूमा पनि प्याकेजअनुसार अफर दिएको छ। एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्