छाउपडी प्रथासम्बन्धी दृष्टिकोण



राजेन्द्रबहादुर सिंह
मनिश्चित उमेर समूहका हरेक महिलामा हुने शारीरिक तथा जैविक प्रक्रिया हो। यसो भए तापनि यसप्रति बनाइने दृष्टिकोण, मूल्य, मान्यता, बुझाइ र गरिने व्यवहार देश, समाज र संस्कृतिअनुसार फरक–फरक पाइन्छ।
एक महिलाले जीवनकालमा करिब आठ वर्षको अवधि महिनावारीमा बिताउँछिन्। सक्रिय जीवनकालको आठ वर्षको अवधि महिनावारीको समयले ओगट्नु एक सोचनीय विषय हो। यस सन्दर्भमा अक्सफोर्ड विश्वविद्यालयबाट सन् २००९ मा प्रकाशित एक जर्नलमा वेथाम हिन्ड्सनले भनेका छन्, ‘इतिहासकार र समाजशास्त्रीहरूले यस विषयलाई स्वाभाविकरुपमा लिई अध्ययन–शोधको विषय बनाएनन्, जबकि बीसौं शताब्दीको मध्यसम्म पनि महिनावारीसम्बन्धी बनाइएका सामाजिक, सांस्कृतिक र धार्मिक कुरीतिका कारण महिला पीडित भइरहे।’
एम गुटरम्यान, पी मेहता र एम गिब्स् (२००७) भन्छन्, ‘अपवादबाहेक संसारका सबै प्रमुख धर्महरूले महिनावारी भएकी महिलालाई विभिन्न किसिमले वर्जित गरेका छन्। यहुदी, क्रिश्चियन, इस्लाम, हिन्दू, बौद्ध आदि समाजले महिनावारीसम्बन्धी आफ्ना विचार बनाएका छन्। ती विचारले महिलामाथि विभिन्न कुरामा बन्देज लगाएका छन्।
ती बन्देजमा महिनावारी भएको समयावधिमा पुरुषलाई छुन नदिने, खाना पकाउन नदिने, पूजापाठ गर्न नदिनेदेखि मानवबस्तीदेखि टाढा बस्नुपर्नेसम्म छन्। सामाजिक र मानवीय विकास उच्च भएका देश र समाजमा धार्मिक ग्रन्थहरूमा महिनावारीसम्बन्धी जेसुकै व्यवस्था गरिएको भए तापनि व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा ती व्यवस्थाहरूको पालना गरिएको पाइँदैन।
तर सामाजिक र मानवीय विकासस्तर न्यून रहेको परिवेशमा भने महिनावारीसम्बन्धी कुरीतिहरू अझै पनि अनुसरण गरिँदै छ।’ यस आधारमा भन्न सकिन्छ कि महिनावारीसम्बन्धी कुरीतिहरू जुनसुकै देश तथा परिवेशमा रहेका छन् तर तिनीहरूको मात्रा र स्वरुपमा मात्र भिन्नता रहेको छ।
समयक्रमसँगै विकासको गति तीव्र पार्न सफल भएका समाज र मुलुकमा महिनावारीसम्बन्धी कुरीतिलाई निराधार मानी लत्याइँदै गइयो। तर मानवीय तथा सामाजिक विकासको गति धीमा, जनचेतनास्तर न्यून र बाहिरी संसारको सन्निकटमा आउन नसकेको समाजमा महिनावारीसम्बन्धी कुरीतिहरू प्रचलनमा रहिरहे। ती कुरीति निरन्तररुपमा आत्मसात् भई नै रहे।
नेपालको पूर्वी तथा शहरी क्षेत्रमा महिनावारीलगायत अन्य कुरीतिहरू कम हुनु तर ग्रामीण बस्ती र समाजमा महिनावारीलगायत अन्य सामाजिक, सांस्कृतिक कुरीतिहरू जस्तै– लैंगिक विभेद, जातीय विभेद, छुवाछूत, बालविवाह आदि बढी हुनु यसको ज्वलन्त उदाहरण हो।
यस अर्थमा विकासको मूलधारबाट पछि परेको, जनचेतनास्तर न्यून भएको तथा संसारकै विकट बस्तीका रुपमा रहेका सुदूरपश्चिम र कर्णालीका बस्तीहरूमा महिनावारीसम्बन्धी विभिन्न कुरीतिहरू यो उत्तरआधुनिक समाजमा रहिरहनुलाई अतिशयोक्तिपूर्ण नमान्न पनि सकिन्छ। यद्यपि महिनावारीसँग सम्बन्धित कुरीतिहरूलाई उन्मूलन गर्नु आजको टड्कारो आवश्यकता हो।
सुदूरपश्चिम र कर्णाली क्षेत्रमा महिनावारी हुनुलाई टणिनु, पर सर्नु, छाउ हुनु, पाखा लाग्नु, नछुने हुनु भनिन्छ भने महिनावारी भएकी महिलालाई छाउपडी भनिन्छ। छाउपडीलाई प्रायः अलग्गै बसोबास गराइन्छ। छाउपडी बस्ने ठाउँलाई छाउगोठ वा छाउखुल्लो भनिन्छ। प्रायः छाउगोठ वा छाउखुल्लो गोठभन्दा पनि जीर्ण, साँघुरो, अँध्यारो, ओसिलो र असुरक्षित हुन्छ।
त्यसैले छाउपडी महिलाहरू सर्पदंशबाट अकालमा ज्यान गुमाइरहेका हुन्छन्। साथै दीर्घरोगी बनिरहेका हुन्छन्। छाउगोठभित्र निस्सासिएर प्राणपखेरु त्यागिरहेक हुन्छन्, बलात्कृत भइरहेका हुन्छन्, अपहरणमा परिरहेका हुन्छन्। उनीहरूको जीउज्यान मासिएको छ र बेचिएको छ। उनीहरूले सम्मानपूर्वक बाँच्न पाउने हक कुण्ठित भएकोमा टुलु–टुलु हेर्नुपरेको छ।
त्यसो भए यस्तो अवस्थामा पनि छाउपडी प्रथालाई किन आत्मसात् गरिएको छ ? के कारक तत्वहरूले गर्दा यो निरन्तर अंगीकार गरिँदै आएको छ ? यो प्रथा अझै किन र कसरी जीवन्त छ ? के कुनै कारक तत्वले समाज तथा महिलालाई यो प्रथा अनुसरण गर्न बाध्य तुल्याएको छ ? यसलाई उन्मूलन गर्न किन सकिएको छैन ?
आदि धेरै प्रश्नको उत्तर गहन, मिहीन र विस्तृत ढंगले खोज–अनुसन्धान गरी समस्या सल्टाउनु आजको आवश्यकता हो। तर विडम्बना ⁄ यहाँ यस प्रथालाई धर्म–संस्कृतिसँग जोडेर अन्धविश्वासको उपजको रुपमा मात्र व्याख्या गरी संकिर्ण, सीमित र अपूरो ढंगले चित्रण गरिँदै आएको छ।
महिलावादी चिन्तक लुवा टाइसन आफ्नो ‘नारीवादी समालोचना’ लेखमा उल्लेख गर्छिन्, ‘पुरुषवादी चिन्तन तथा व्यवस्थाबाट टाढिन मुस्किल छ। पुरुषप्रधान समाजमा केही महिला पुरुषवादी चिन्तन र व्यवस्थासँग यतिसम्म ‘प्रोग्राम्ड’ भइसकेका हुन्छन् कि ती महिला पुरुषवादी प्रधानता, चिन्तन र व्यवस्थालाई आफ्नै चिन्तन र व्यवस्था मान्छन्।
जबकि ती पुरुषवादी चिन्तन र व्यवस्थाहरू महिलाप्रति चरम विभेदपूर्ण हुन्छन्। ती महिला आफूमाथि भएको विभेदको सुइँकोसम्म पाउँदैनन्। किनभने उनीहरूमा विभेदको भेउ पाउने चेत पुरुषवादी चिन्तनको मानसिक अतिक्रमणले गर्दा निस्तेज भइसकेको हुन्छ।’
महिलाको यस मानसिक अवस्थालाई टाइसनले ‘प्याट्रिआर्कल विमन’ भनेर नामकरण गरेकी छन्। यो अवधारणालाई हाम्रो अवस्थामा सापटी लिएर व्याख्या गर्ने हो भने हाम्रो समाजको बज्यै तथा आमा पुस्ता ‘प्याट्रिआर्कल विमन’ हो, जुन पुस्ता पुरुषप्रधान व्यवस्था निःसृत छाउपडी प्रथालाई सहर्ष स्वीकार गर्दछ।
यो पुस्ताले छाउपडी प्रथाजस्तो अमानवीय रीतप्रति कुनै संशयसम्म प्रकट गर्न सक्दैन, सामान्य तथा स्वाभाविकरुपमा देख्छ। बरु मासिक धर्म पालना गर्नु आफ्नो कर्तव्य मान्छ, मासिक धर्म पालना गरेकोमा गौरवान्वित महसुस गर्छ।
तर जब यस पुस्तामा छाउपडीसँग सम्बन्धित कुरीतिका विरुद्धमा सकारात्मक मनोचेत सञ्चारित हुन्छ, तब छाउपडी प्रथाप्रति निस्तेज मनोचेत जागृत भई सक्रिय हुन्छ। फलस्वरुप छाउपडी प्रथा व्यवस्थापनमा सकारात्मक योगदान पुग्छ। तर जब यस पुस्तामा छाउपडी प्रथाप्रति सकारात्मक मनोचेत हाबी हुन्छ उल्टो त्यो मनोचेत छाउपडी प्रथालाई अनुसरण गर्न-गराउन उद्यत हुन्छ।
यसको मतलब छाउपडी गोठ भत्काइए पनि यो पुस्ता न घरको संघार नाघ्न सक्छ न त छाउपडी गोठमा नै फर्कन सक्छ। द्विविधात्मक मनोचेतमा रुमल्लिन्छ। तसर्थ यस पुस्ताको मनोदशालाई मध्यनजर गर्दै चेतनास्तर उकास्ने खालका गतिविधि निरन्तर सञ्चालन गरिनुपर्छ, ताकि यस पुस्ताले द्विविधात्मक मनोचेतमा रुमल्लिन नपरोस्।
विकसित यस मनोभावनाप्रति त्यस पुस्ताको रत्तिभर दोष हुँदैन, किनकि यो मनोचेतको विकास पुरुषप्रधान समाज र व्यवस्थाको उपज हो।
सामाजिक प्रकार्यवादका मूर्धन्य व्यक्तित्व टाल्कन पार्सन भन्छन्, ‘समाज एक जटिल पद्धति हो। यो जटिल पद्धति समाजमा रहेका कानुनी, आर्थिक, धार्मिक, राजनीतिकजस्ता उप–पद्धतिको संयोजन र सहयोगमा बनेको हुन्छ। उप–पद्धतिहरूले समाजका आवश्यक उद्देश्यहरूको परिपूर्ति गरिरहेका हुन्छन्।
कुनै एक उप–पद्धतिमा आएको परिवर्तनले सम्पूर्ण सामाजिक पद्धति नै खलबलिन पुग्छ। उप–पद्धतिहरूका बीचमा परिवर्तन आइरहने समाजहरू अस्थिर हुन्छन्। छाउपडी प्रथा यहाँ एक सामाजिक पद्धतिको कडी हो। यसमा आएको परिवर्तनले समग्र जटिल सामाजिक पद्धतिमा नै फेरबेदल आउने हुन्छ।
यस अर्थमा छाउपडी प्रथालाई एकल दृष्टिकोणबाट मात्र हेरिनु र व्याख्या गरिनु त्रृटिपूर्ण हुन जान्छ। किनकि यो प्रथा एक सामाजिक उप–पद्धतिको रुपमा रहेको छ। यसलाई समाजबाट उन्मूलन गर्न खोज्नु भनेको समाजमा व्याप्त उप–पद्धतिहरूसँगको यसको सहसम्बन्ध तथा सहकार्यलाई टुटाउनु वा शून्य बनाउनु हो।
सामाजिक उप–पद्धतिमा रहेको छाउपडी प्रथालाई उन्मूलन गर्न खोज्दा सृजित हुने शून्यतालाई सन्तुलनमा ल्याउनु एक जटिल कार्य हो। यसर्थ यस प्रथालाई हटाउन समाजका हरेक उप–पद्धतिसँगको समन्वय र सहकार्यको दरकार रहन्छ।’
यस्तै मानवशास्त्री सिद्धान्तकार पिटर सच भन्छन्, ‘समाजमा व्यक्तिगत हित तथा स्वतन्त्रता सामाजिक हितभन्दा गौण हुनुपर्छ, ताकि समाजमा अमनचयन कायम रहिरहोस्।’ उनले भनेजस्तै सामाजिक निर्णयमा महत्वपूर्ण भूमिका लिने समाजको एक वर्गले छाउपडी प्रथालाई सामाजिक हितको लागि अनुसरण गर्नुपर्छ भनी मान्दछ।
त्यस वर्गको मान्यता छ– छाउपडी प्रथालाई अनुसरण नगर्दा समाजमा महामारी फैलिन्छ, प्राकृतिक प्रकोप आइलाग्छ, सामाजिक रीतिथिति खल्बलिन्छ। त्यस समाज र वर्गले व्यक्तिगत स्वतन्त्रताभन्दा सामाजिक हितलाई प्राथमिकता दिनुपर्छ भन्ने विश्वास राख्छ।
यसर्थ छाउपडी प्रथालाई त्याग्न नसक्नुमा यस प्रथासँग जोडिएको सामाजिक हितको विश्वास पनि हुन सक्छ। छाउपडी प्रथा व्यवस्थापनका अभियानकर्मीहरूले यस दृष्टिकोणबाट पनि यस प्रथालाई दृष्टिगत गर्नु जरुरी छ।
यहाँ सामाजिक चिन्तक गायत्री चक्रवर्ती स्पिभाक (१९८५) लाई उद्धृत गर्नु सान्दर्भिक हुन जाला। उनले भनेकी छन्, ‘निमुखाहरूका सवाल तथा समस्याहरू निमुखा स्वयंले प्रतिनिधित्व गर्नुपर्छ, ताकि ती समस्या तथा सवालहरू वास्तविकरुपमा प्रतिनिधित्व होऊन्, प्रतिविम्बित होऊन्। यदि ती सवाल तथा समस्या बाहिरियाहरूले प्रतिनिधित्व गरेमा वास्तविक स्वरुपमा नभई विकृतरुपमा सञ्चारित हुन्छन्। किनकि तिनीहरू ती सवाल तथा समस्यालाई आफ्नो दृष्टिकोणले व्याख्या गर्छन् वा बुझ्छन्। वास्वविकताको गहिराइमा पुग्न चाहँदैनन् वा सक्दैनन्। किनकि त्यो वास्तविकतालाई प्रतिनिधित्व गर्ने ‘एजेन्सी’ तिनीहरूमा विकसित भएको हुँदैन।’
यस मान्यतालाई आधार मानी भन्न सकिन्छ– कहीँ–कतै छाउपडी प्रथाको वास्तविक स्वरुप, त्यसपछाडिको वास्तविक कारक तत्व र सामाजिक मनोविज्ञानलाई अवास्तविक तथा फरक ढंगले बुझिएको, प्रतिनिधित्व गरिएको, चित्रण गरिएको पनि हुन सक्छ। यसर्थ यस प्रथाजनित असर र कारणहरूमाथि प्रशस्त शोध–अनुसन्धान हुनु जरुरी छ। यस्तै किसिमको सन्दर्भमा स्पिभाक आगे भन्छिन्, ‘तत्कालीन औपनिवेशिक शक्तिले सती प्रथालाई भारतबाट उन्मूलन त ग¥यो तर यससँगै सम्पूर्ण भारतवर्षको सभ्यतालाई कमसल तथा अविकसित करार गरिदियो।’ यस भनाइलाई छाउपडी प्रथा उन्मूलन गर्ने अभियानसँग दृष्टिगत गर्दा छाउपडी प्रथालाई आधार बनाई सामाजिक तथा सांस्कृतिक अतिक्रमण गर्ने तानाबाना पनि हुन सक्छ भनी संशय राख्ने ठाउँ पनि छ।
छाउपडी प्रथा समाजमा व्याप्त विविध पक्षहरूसँग सम्बन्धित छ। यो प्रथा प्रचलनमा रहिरहनुको पछाडि सामाजिक, सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक, आर्थिक कारणहरू छन्। कुनै एक पक्ष जस्तै– धार्मिक वा सांस्कृतिक वा सामाजिक कारणले मात्र यो प्रथा प्रचलनमा आइरहेको छैन। यस प्रथासँग जोडिएका कुरीतिहरू उन्मूलन गर्न समग्र सामाजिक पक्षहरूको शोध–अध्ययन गरी आवश्यक नीति, कार्यक्रम बनाउनु र अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो। (लेखक सिंह अधिवक्ता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्