मातृभाषा र मातृभाषा साहित्यबारे विमर्श



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेबु्रअरीको पूर्वसन्ध्यामा आयोजित गोष्ठीमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भूमण्डलीकरणका कारण विश्वमा अहिले मातृभाषाहरू जोखिममा परे तापनि नेपालले भने संविधानमै सुनिश्चित गरेर मातृभाषाहरूको संरक्षण र प्रवद्र्धनमा विशेष नीति लिएको बताउनुभयो।

उहाँले भाषा मानिसको जन्मसिद्ध अधिकार भएकाले सोको संरक्षण र संवद्र्धन गर्न सरकार उदारतापूर्वक लागिरहेको सुनाउनुभयो। मन्त्री भट्टराईले भाषाहरूको संरक्षण र प्रवद्र्धनमा विश्वले नेपालबाट धेरै कुरा सिक्न सक्ने उल्लेख गर्नुभयो।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संसार बहुभाषिक भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विश्वमा केही भाषा प्रचलनमा रहेको भए पनि सभ्यता र सस्ंकृतिको आत्मा नै भाषा भएको हुँदा मातृभाषाको महत्व जहिल्यै रहन्छ।’

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव, मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली, भाषा आयोगका अध्यक्ष प्रा.डा. लवदेव अवस्थी, नेपालका लागि बङ्गलादेशका कार्यवाहक राजदूत मोहम्मद अल अलमुइ इमान र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले मातृभाषा र मातृभाषा साहित्यको महत्वबारे प्रकाश पार्नुभएको थियो।

सोही अवसरमा भएको गोष्ठीमा भाषा आयोगका अध्यक्ष प्रा.डा. लवदेव अवस्थीले नेपालमा मातृभाषा शिक्षा नीति तथा कार्यान्वयनको अवस्था, डा. तारामणि राईले नेपालका आदिवासी जनजातिका मातृभाषाको वर्तमान अवस्था र अस्मिता मानन्धरले समाज रूपान्तरणमा मातृभाषा साहित्यको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रहरूमाथि क्रमशः प्रा.डा. नोबलकिशोर राई, प्रा.डा. दुविनन्द ढकाल र भोगीराज चाम्लिङले टिप्पणी गर्नुभएको थियो।

प्रज्ञा–प्रतिष्ठानले फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै छ। महोत्सवमा यसपालि ५४ मातृभाषाका ६४ कविता वाचनका लागि छनोट भएको महोत्सवकी संयोजक लक्ष्मी मालीले बताउनुभयो। महोत्सवमा भारतको आसाम राज्यबाट असमिया भाषाकी कवि रुमी लस्कर बोराको समेत आतिथ्य रहने प्राज्ञ मालीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्