सीमा विवादमा पूर्व सांसद मञ्चको अन्तरक्रिया



काठमाडौं, (नेस)

सीमा विवादका बारेमा पूर्व सांसद मञ्चले सोमबार अन्तरक्रिया गरेको छ। सिंहदरवारस्थित कार्यालयमा मञ्चले ‘नेपाल भारत सीमा समस्या र समाधान विषयक अन्तरक्रिया’ मा विज्ञहरूसँग छलफल गरेको हो।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले नेपालको सीमाको आधिकारिक दस्तावेज सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले संविधान संशोधन गर्ने क्रममा नेपालको सीमाबारे पनि उल्लेख गर्न सुझाव दिनुभयो। पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले भारतले नयाँ नक्सा सार्वजनिक गरेर आधिकारिक रूपमा हस्तक्षेप गर्न सुरु गरेको बताउनुभयो।

उहाँले सीमा विवादमा नेपाल सरकार गम्भीर नभएको पनि आरोप लगाउनुभयो। आफू भारतका लागि नेपाली राजदूत हुँदा सीमा विवाद समाधानका लागि केही पहल गरेको पनि दाबी गर्नुभयो। भारतले पछिल्लो समयमा सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको रहेको दाबी गरेको छ।

नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सरकारको कमजोरीका कारण यो समस्या आएको बताउनुभयो। ‘जनता तातिरहेका छन् तर सरकारलाई यो पीडाले छोएको छैन, यो भन्दा अरू दुर्भाग्य केही हुन सक्दैन’ –ढुंगेलले भन्नुभयो। ढुंगेलले सरकारले सीमा विषयमा विज्ञसँग छलफल नगरेकामा पनि असन्तुष्टि व्यक्त गर्नुभयो।

कार्यक्रममा भैरव रिसालले सरकारको सक्रियता नभएकाले समस्या दिनैपिच्छे गम्भीर बन्दै गएको टिप्पणी गर्नुभयो। २०५७ सालमा स्थापित मञ्चले समसामयिक विषयमा अन्तरक्रिया र विचार गोष्ठी गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्