‘सरकार तपाईंहरूसँगै छ, चिन्ता लिनुपर्दैन ढुक्क हुनुहोस्’



पुष्कर बुढाथोकी, भक्तपुर।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट ल्याइएका नेपालीहरूको अबस्थाबारे जानकारी लिनुभएको छ।
उहाँले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमान्डमा रहेको कन्ट्रोल कक्षमा बाट माइकमार्फत भित्र रहेका नेपालीहरूसँग सीसी क्यामराको माध्यमबाट कुराकानी गर्नुभएको हो।

त्यसक्रममा मन्त्री ढकालले भित्र रहेका नेपालीसँग सेवा, सुविधा र समस्याबारे सोध्नुभएको थियो। उहाँले सरकार उहाँहरूसँगै रहेकाले नआत्तिन आग्रह गर्दै भन्नुभयो– सरकारले चीनबाट ल्याइएका नेपाली निरोगी रहेको भन्दै आएको छ, अहिले मानिसहरूले सो कुरा बुझ्न थालेका छन्।

जवाफमा ती नेपालीले सरकारलाई धन्यवाद दिँदै आफूहरू पूर्ण रूपमा स्वस्थ्य रहेको बताएका थिए। सोही अवसरमा मन्त्री ढकालले चासो लिएपछि क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीका नेपाली सेनाका सेनानी डा. नवीन फुयाँलले सबैजना शारीरिक र मानसिक सामाजिक रूपमा स्वस्थ्य रहेको आफूले पाएको बताउनुभएको थियो। उक्त क्वारेन्टाइनमा १ सय ७५ मध्ये ४० जना महिला र दुई जना बालबालिका रहेका छन्।

स्वास्थ्यमन्त्री ढकाललाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाको बीरदल गणका गणपति कर्नेल शिव पौडेलले पनि यहाँको अबस्थाबारे जानकारी गराउनुभएको थियो।

उक्त क्वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २ सय ५० जना खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्