स्ववियु चुनाव स्थगित



काठमाडौं, (नेस)। 

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गरेको छ।
त्रिविको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले हाललाई निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।

कार्यकारी परिषद्को यो निर्णयसँगै यो वर्ष स्ववियु निर्वाचन नहुने लगभग पक्का भएको छ। कार्यकारीको बैठकले १४ गते हुने निर्णय भएकोमा विशेष कारणवश अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको उल्लेख गरेको छ।
उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले जुनसुकै हालतमा पनि निर्वाचन गरेरै छाड्ने बताए तापनि विशेष गरी रेक्टर नियुक्ति गर्न नसकेकाले स्थगित भएको बताइएको छ।

त्रिवि स्रोतका अनुसार उपकुलपति प्राडा बास्कोटाले तत्काल रेक्टर नियुक्ति गर्न नखोजेकाले निर्वाचन स्थगित भएको हो।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरले नेपाल विद्यार्थी संघले हाललाई तयारी पूरा नभएकाले स्थगित गर्न आग्रह गरेपछि स्थगित गरेको जानकारी दिनुभयो। तर, नेविसंघले निमित्त रेक्टर संयोजक रहेको समितिले घोषणा गरेको निर्वाचन हुनै नदिने जनाएको थियो। त्रिविले नेविसंघसँग छलफल गर्दा सोही अडान दोहो¥याएपछि निर्वाचन स्थगित भएको हो।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक थापामगरले सहमति भएमा चैत अन्तिमसम्ममा निर्वाचन हुन सक्ने दाबी गर्नुभयो।

तर वैशाखदेखि भदौसम्म विभिन्न तहको परीक्षा हुने भएकाले यो वर्ष निर्वाचन हुने सम्भावना कमै छ। यसअघि त्रिविले संगठन तथा प्रशासनसम्बन्धी नियम २०५० को उपनियम ३४८ को खण्ड (घ) बमोजिम २ वर्षे कार्यकाल रहने भएकाले निर्वाचन प्रक्रिया शुरु गर्न निर्देशन दिएको थियो। त्रिवि कार्यकारी परिषद्को माघ २२ गतेको बैठकले फागुन १४ गते निर्वाचन गर्ने निर्णय गर्दै सबै क्याम्पसलाई निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएको थियो।

यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुईवर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म थप गरिएकाले अब फागुन १४ गते नै गर्नुपर्ने बाध्य भएको जनाएको थियो। फागुन १४ मा निर्वाचन नहुने भएपछि हाल कायम रहेको स्ववियु पदाधिकारीको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा अन्योल भएको छ। त्रिविले फागुन १४ गते निर्वाचन गर्ने गरी कार्यतालिकासमेत सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्