मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप



गोकुल घोरसाइने, बारा ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुन्नुभएको छ।

गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकमा भिडियो पोस्ट गरेको भन्दै स्थानीय युवा मुकेश कुशवाहाका ५५ वर्षीय बुबा हरेन्द्र महतोलाई मेयर यादवले सोमबार कुटपिटपछि शौचालयमा थुन्नुभएको हो ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न गर्नुपर्ने नालाको काम हालसम्म पूरा नभएर समस्या परेको स्थानीयको गुनासोपछि निरीक्षणमा पुगेका मेयर यादवको भनाइसहित छोरा मुकेशले बनाएको भिडियो स्थानीय अर्का युवाले पनि सामाजिक सञ्जालमा अपलोड गरेका थिए। करिव २९ सेकेन्डको सो भिडियोमा मेयर यादवले ‘यो समस्याको अहिले समाधान गर्न नसकिने र जे गर्न र जहाँ जान मन लाग्छ त्यही जानू’ भनी प्रतिक्रिया दिनुभएको छ।

फेसबुकबाट भिडियो सार्वजनिक भएलगत्तै अपमान गरेको भन्दै मेयर यादवले मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका १ दर्जनभन्दा बढी नगर प्रहरीले फेला पार्न नसकेपछि खेतमा काम गरिरहेका उनका बुबालाई समातेर कुटपिट गर्दै यातना दिनुभएको हो। ‘गहुँबारीमा सिँचाइ गरेर बसेको थिएँ’, हरेन्द्रले भन्नुभयो– ‘नगरपालिका पुगेपछि गाजीगलौज र कुटपिट गर्दै शौचालयमा थुन्नुभयो।’

मेयर यादवले आफूले लगाएको जुत्ता निकालेर टाउकोमा राख्न भनेको र नमानेपछि कुटपिट गर्दै नगरपालिकाको चर्पीमा आधा घन्टासम्म थुनेको उहाँले बताउनुभयो।

‘तेरो छोराले मेरो बेइज्जत गरेको छ, अब दुवै जनालाई त्यसै छोड्दिनँ भनेर धम्की पनि दिएका छन्।’ –उहाँले भन्नुभयो। मेयर यादवले भने हरेन्द्रमाथि कुटपिट र दुव्र्यवहार नगरेको तर छोरा मुकेशलाई फेला पार्न नसकेपछि बाबुलाई सोधपुछका क्रममा नगरपालिकामा बोलाएको दाबी गर्नुभयो।

यसै गरी नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै सामाजिक सञ्जालबाट मेयर यादवको तस्वीर र भिडियो पोस्ट गर्ने बरियारपुर नगरपालिका–१ बस्ने अर्का वर्ष ३० का दीपेन्द्र कुशवाहालाई नगर प्रहरीले नियन्त्रणमा लिएर मंगलबार जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाएको छ।

मेयरको बेइज्जती गरेको आरोपमा नगर प्रहरीद्वारा समातेर बुझाइएका कुशवाहामाथि छानविन थालिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयो।

आफ्नो निजी कामको सिलसिलामा केही समयअघि मेयर यादवले नगरपालिकाको जिप प्रयोग गरेर एक हप्तासम्म भारत भ्रमण गरेको भिडियो कुशवाहाले केही समयअघि सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो।
कुशवाहाले नगरको विकास नाममा भ्रष्टाचार गरेको भन्दै मेयर यादवको तस्वीरमा जनावरको टाउको राखेर बनाएको अर्को फोटो पनि पोस्ट गर्नुभएको थियो।

सोही फोटोलाई निहँु बनाएर प्रहरीले कुशवाहामाथि अभद्र व्यवहार मुद्दामा कारबाही थालेको बुझिएको छ। तर, स्थानीय भने कार्यालयबाट हुने भ्रष्टाचार र ढिलासुस्तीका घटना सार्वजनिक गर्नेमाथि प्रतिशोध साँध्न लागिपरेको बताउँछन्।

‘अनियमितता र ढिलासुस्तीका घटना ढाकछोप प्रयासमा मेयर यादवको निर्देशनमा सर्वसाधारणलाई पक्राउ गर्ने र मुद्दा लगाउने कार्य हुन थालेको छ।’ –एक स्थानीयले भने।

प्रतिक्रिया दिनुहोस्