सरोकारवालाहरु भन्छन् : नागरिक समाज र सञ्चार जगतसंग हातेमालो नगरी विकास असम्भव



पुष्करराज बुढाथोकी,भक्तपुर ।

नागरिक समाज र सञ्चार जगतसंग हातेमालो नगरी अगाडि बढे सरकारले अघि सारेका विकासका अवधारणाहरु पुरा नहुने सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको आयोजनामा फागुन ६ गते आयोजित ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुले सरकारले नागरिक समाज र सञ्चार माध्यमलाई कस्ने नीति अगाडि सारेको चर्चा गर्दै यसले तीन तह कै सरकारलाई नोक्सान पुग्ने चर्चा गर्नुभएको थियो । कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले नागरिक समाजको सकारात्मक गतिलाई रोके लोकतन्त्र संकटमा पर्ने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो–“नागरिक समाज जहाँ रहदैन, त्यहाँ लोकतन्त्र रहदैन, त्यसैले लोकतन्त्रलाई संस्थागत गर्न समाजको धारणा बोकेर हिड्ने नागरिक समाजलाई चलायमान गराउनुपर्छ ।”

राजनीतिक निकायको जवाफदेहिता सन्तोषजनक नरहेको औल्याउदै उहाँले नागरिक समाज, गैरसरकारी संस्था लगायतलाई सरकारले राज्यको सहयोगी हो भन्ने बुझ्नु पर्नेमा जोड दिनुभयो । उहाँले राज्यलाई जवाफदेहि बनाउने काम नागरिक समाज र सञ्चार माध्यमको रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा इन्सेक वागमति प्रदेश संयोजक कृष्ण गौतमले संविधानले परिकल्पना गरेको विकास र सम्बृद्धिका लागि सरकारले नागरिक समाज र सञ्चार माध्यमसंग हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा आउनै नदिई सरकारले गैरसरकारी संस्था र मिडियालाई नियन्त्रण गर्ने नीति लिएको बताउदै उहाँले पार्टी खोल्न भन्दा संस्था खोल्न र नविकरण गर्न निकै कठिन रहेको भनाई राख्नुभयो ।

उहाँले देशको परिवर्तनदेखि महाभूकम्पसम्ममा पनि नागरिक समाजले सरकारलाई गरेको सहयोगलाई भुल्न नहुने बताउदै कानूनी शासन स्थापना गर्न र पारदर्शिता कायम गर्न पहरेदारीको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । संयोजक गौतमले भन्नुभयो–“तीन तहका सरकारका फरक नीतिका कारण समस्या झेल्नु परेको छ, नागरिक समाज र सञ्चार माध्याम सरकारका प्रतिस्पर्धी होईनन्, सहयोगी हुन्, हामी सरकारसंग सहकारर्य गरेर जान चाहन्छौ, सरकार कस्न चाहन्छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले अघि सारेको सुखी नेपाली समृद्द नेपालको नारालाई सफल पार्ने हो भने सरकारले नागरिक समाज र सञ्चार माध्यमसंग हातेमालो गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।

सञ्चार जगत जनताका लागि सफा ऐना जस्तै रहेको चर्चा गर्दै उहाँले जनताको बलमा बनेको बलियो सरकारबाट पनि विकास, शुसासन र जवाफदेहिता नहुनु बिडम्बना भएको टिप्पणी गर्नुभयो । शुसासनको बाधक भ्रष्टाचार भएको बताउदै उहाँले विकासका प्रशस्त संम्भावनालाई अवसरका रुपमा अगाडि बढाउन नागरिक समाज र सञ्चार माध्यमसंग हातेमालो गर्नुको बिकल्प नभएको औल्याउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले आमनागरिक र सरकार बिच पुलको भूमिका निर्वाह गर्नुपर्ने नागरिक समाजलाई सरकारले कुण्ठित पार्न खोजेको भनाई राख्नुभयो । संविधानको व्यबस्थालाई काट्ने गरि सरकारले फेरी ऐन ल्याउने, सबै संस्थालाई एउटै डालोमा हालेर हेर्ने र व्यबहार गर्ने र कतिपय स्थानीय सरकारले गैरसरकारी संस्थालाई नगरपालिकामा निषेध गर्ने जस्ता प्रबृत्तिले नागरिकको हक फेरी कुण्ठित पार्ने प्रयास भईरहेको अनुभूति हुन थालेको बताउनुभयो ।

देशमा कति संघसंस्था छन्, कसले कस्तो काम गरिरहेका छन्, कति नविकरण छन् भन्ने सहि तथ्यांक राख्न नसक्ने सरकारले अहिले संस्था दर्ता एवं नविकरणको अधिकारको सवालमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र महिला बालवालिका तथा समाज कल्याण मन्त्रालय बिच द्धन्द्ध चल्नु हाँस्यास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले नागरिक समाज नियन्त्रणमुखी कानून ल्याउन खोज्नु गलत भएको बताउदै विकाससंग जोडिएको एजेण्डालाई पुरा गर्न सबै तहका सरकारसंग नागरिक समाज तयार रहेको भनाई राख्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल बार एशोसिएसनका भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले पछिल्ला समयमा फास्ट ट्रयाकदेखि गुठि विधेयकसम्म जसरी नागरिक समाजको भूमिका देखिएको छ, त्यसैगरि शुसासन र पारदर्शितामा नागरिक समाज र सञ्चार माध्यमको भूमिका अत्यावश्यक रहेको औल्याउनुभयो ।

विश्व कै उत्कृष्ठ संविधान भन्ने, ३१ वटा मौलिक हक स्थापित भन्ने, अनि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म विकासमा पारदर्शिता, गतिशिलता र शुसासनमा असफलता रहेको जिकिर गर्नुभयो । अहिले वडाअध्यक्षदेखि सांसद समेतको आफ्नै टिपर, आफ्नै डोजर रहेकाले टिपर र डोजर चलाउने मामिलामा मात्रै विकास भएको र आमनागरिकले महसुस गर्नेगरि विकास हुन नसकेको प्रतिक्रिया उहाँले दिनुभयो ।

नगरपालिकामा अहिले एउटा सामाजिक संस्था दर्ता र नविकरण गर्नै नसक्ने अबस्थामा विकास, शुसासन र पारदर्शिता नारामा मात्रै सिमित हुने धारणा राख्नुभयो । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य श्रीकृष्ण केसीले सरकारको कमिकमजोरीको अनुगमन र खबरदारी आवश्यक रहेको औल्याउदै सरकार स्वेच्छारी ढंगले भन्दा पनि सामाजिक, आर्थिक र साँस्कृतिक विकासको गतिमा अगाडि बढनु पर्ने औल्याउनुभयो ।

संचार माध्यम पनि पछिल्ला समयमा अमूक पार्टीको प्रचारकको रुपमा स्थापित हुदै गएको र नागरिक समाज पनि पार्टीका कार्यकर्ताका रुपमा अगाडि बढ्न थालेको हो कि भन्ने आशंका पलाउन थालेको बताउनुभयो ।

त्यसअवसरमा हनुमन्ते सफाई अभियानका अभियन्ता रुद्र पौडेलले जनआन्दोलनको उपलब्धी जनताले अझै पाउन नसकेको टिप्पणी गर्दै नागरिक समाज बिभिन्न राजनीतिक दलको ट्याग लगाएर अगाडि बढेको र सरकार मनोपरी ढंगले अगाडि बढ्दा खबरदारी गर्ने निकाय चुक्दैछ कि भन्ने आभाष हुन थालेको बताउनुभयो ।

कार्यक्रममा नागरिक समाजका अगुवना पहलमान श्रेष्ठ, नारायण न्यौपाने लगायतले जनप्रतिनिधीले दम्भ त्याग्दै विकासमा हातेमालो गरेर अगाडि बढ्न नसके विकासमा देश फेरी पछाडि पर्ने चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्