महाकाली अस्पताल सुधारको अग्र चरणमा

बिचौलिया र दलालहरुलाई अस्पतालको सुधार पक्ष नै ‘गल्पाँसो’ बन्दै



मनोज भट्ट,महेन्द्रनगर ।

सुदूरपश्चिमकै एक स्वास्थ्य धरोहरका रुपमा रहेको महाकाली अस्पतालले पछिल्लो समय मुहार फेर्न थालेको छ । गत ३० साउनमा संघीय सरकारको मन्त्रीपरिषद्को निर्णय अनुरुप महाकाली अस्पतालको अध्यक्षमा सिफारिस भएका कृष्ण दत्त जोशी (बोक्सर)ले अस्पतालको मुहार फेर्न वातावरण अनुकुलता गरेको पाइन्छ । अध्यक्षको पद सम्हालेको सात महिनामै महाकाली अस्पतालले अस्पतालको रुप धारण गरेको सेवाग्राही बताउछन् ।

सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत समायोजन भएको उक्त अस्पतालले पछिल्लो समय भौतीक तथा प्राविधिक सेवाहरुमा अग्र छलाङ मारेको छ । बिचौलिया र दलाल कम्पनीका ठेकेदारहरुको हानथाप हुँदाहुदैं पनि व्यवस्थापन समितिको अध्यक्षका रुपमा रहेका जोशीले पछिल्लो समय अस्पतालाई माथि उकास्न अब्बल प्रयास गरेको पाइन्छ ।

उक्त अस्पताललाई तहसनहस पार्न अह्म भूमिका निर्वाह गर्ने गिरोहलाई छिचोल्दै अस्पतालले पहिले भन्दा केहि गती लिएको स्थानीयले समेत आभास गरेका छन् । महाकाली अस्पतालमा २८ जनजा डाक्टरहरुको दरबन्दी छ । तर यो भन्दा पुर्व बढीमा ३÷४ जना बिशेषज्ञ डाक्टरमात्रै अस्पतालमा पाइन्थे । हालको अवस्थामा ७ जना बिशेषज्ञ डाक्टर रहेका छन् ।

७ जना बिशेषज्ञ डाक्टर संगै १२ जना अन्य डाक्टर गरेर १९ जना डाक्टर हाल महाकाली अस्पतालमा कार्यरत छन् । अधिकांश गरेर महेन्द्रनगरमा बिशेषज्ञ डाक्टर बस्न रुचाउदैनन् । तर पछिल्लो समय उक्त अस्पतालमा आज सम्मकै उच्च बिशेषज्ञ डाक्टर रहेको तथ्यांक भेटिएको छ ।

अस्पतालमा बर्षौ देखि अलपत्र परेका पुराना सामाग्रीहरुलाई व्यवस्थापन गरिएको पाइन्छ । सरसफाईमा राम्रो सुधार भएको हरेक सेवाग्राहीले महसुस गरेका छन् । आफै थला परेको आइसीयू सेवालाई मर्मत सम्भार गर्दै आउँदो नयाँ बर्ष देखि सञ्चालनमा ल्याउने तयारी थालिएको छ । जसको लागि विशेषज्ञ डाक्टरको समेत पद पुर्ती गरिन लागेको महाकाली अस्पताल स्रोतले जनाएको छ ।

नयाँ कुरुवा कक्षा स्थापना गरिएको छ । पछिल्लो समय अस्पतालमा २४ घण्टा ल्याव सुविधा समेत प्रदान गरिन थालेको जनाइएको छ । पहिले दिनमा मात्रै ल्याव सुविधाको व्यवस्था रहेको थियो । त्यसैगरी एक्स–रे को सुविधा पनि बढाएर २४ घण्टा पुर्याइएको पाइन्छ । हप्तामा २ दिनमात्रै अल्ट्रा साउण्ड सुविधा रहेकोमा शनिवार बाहेक हरेक दिन अल्ट्रा साउण्ड गर्न सकिने व्यवस्था गरिएको अध्यक्ष जोशीले बताए ।

उक्त अल्ट्रा साउण्डको सुविधा अस्पतालमा सधै नहुँदा सेवाग्राही महेन्द्रनगरका मेडी क्लिनिकहरुमा धाउने गरेको र चर्को शुल्क तिर्न बाध्य हुनुपरेको तथ्यलाई मध्यनजर गर्दै सेवाग्राहीको सहजताकालागि अल्ट्रा साउण्ड सुविधा थप गरिएको उनले बताए ।

तीन बर्ष देखि एम्बुलेन्स बिहिन रहेको अस्पतालले केहि महिना अगाडी मात्रै अत्याधुनिक सेवा सुविधा सहितको नयाँ एम्बुलेन्स पाएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का सुदूरपश्चिम प्रदेश सांसद मानबहादुर सुनारको बिशेष पहलमा अस्पतालले नयाँ एम्बुलेन्स पाएको हो ।अस्पतालको सुधारात्मक पक्षकै शिलशिलामा नयाँ इमर्जेन्सीको समेत उद्धाटन गरेर सञ्चालनमा आइसकेको छ ।

यो संगै अस्पतालले नयाँ फार्मेसी समेत सञ्चालन गर्ने भएको छ । चैत्र महिनाको पहिलो हप्ताबाट उक्त अस्पतालले ३५ लाखको लागतमा सम्पुर्ण औषधी सहितको फार्मेसी सञ्चालनमा ल्याउने जनाएको छ । फर्मेसीको टेण्टर समेत भइसकेकोले छिट्टै सञ्चालनमा आउने अध्यक्ष जोशीले बताए ।

प्राविधिक पक्ष संगै अस्पतालले पछिल्लो समय भौतिक संरचना निर्माणमा समेत बिशेष पहल गरेको पाइन्छ । अस्पताललाई परिपुर्ती हुने गरेर पानी ट्याङ जडान गरिएको छ । सरसफाईका दृष्ट्रिकोणले उक्त अस्पताल पहिले भन्दा आमूल रुपमा परिवर्तन भएको छ । अस्पताल परिसर देखि भित्री सम्पुर्ण कक्षहरु र शौचालयमा सरसफाईको उचित बन्दोबस्त गरिएको पाइन्छ ।

गुरुकुल एजेन्सी मार्फत अस्पतालको सुरक्षालाई केन्द्रीत गर्दै, आर्मी र प्रहरी सेवाबाट सेवानिवृत ९ जना सुरक्षा गार्ड राखिएको महाकाली अस्पताल स्रोतले जनाएको छ । यो संगै लागु औषध तथा मदिरा सेवन गरेर अस्पतालमा हो–हल्ला र दादागिरी गर्ने गिरोहबाट उन्मुक्ति पाइएको छ ।

उक्त अस्पतालालाई महेन्द्रनगरका केहि अराजक तथा विकास बिरोधी ‘च्यानल’ले धमिल्याउन खेल खेल्दै आएको तर आफ्नो स्वच्छ , विकास, परिवर्तनवादी अठोटका कारण ती ‘च्यानल’ सल्बलाउन नसकेको अध्यक्ष जोशीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्