काभ्रे भञ्ज्याङ्गमा मदन भण्डारीको शालिक अनावरण (फोटो फिचर)

धुलिखेलमा ३६ वटा पार्क निर्माण



मोतीराम तिमल्सिना,काभ्रे । 

‘स्थानीय सरकारहरुको विकास भौतिक पूर्वाधार मात्रै होईन । देशलाई अगाडी बढाउन विभिन्न समयमा गरेको योगदानलाई पनि संरक्षण गर्नु पर्छ । जुन काम धुलिखेल नगरपालिकाले गरेको छ’–प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नु भयो ।

धुलिखेल नगरपालिका वडा नम्वर ११ काभ्रेभञ्ज्याङ्गमा निर्माण गरिएको पार्क र पार्कमा निर्माण गरिएको जननेता मदन भण्डारीको शालिक अनावरण गरे पछि प्रधानमन्त्री ओलीले देशलाई कसरी अगाडी बढाउनु पर्छ ? देशमा कस्तो लोकतन्त्र आवश्यक छ ? जनतालाई कस्तो शासन आवश्यक छ ? नागरिकहरुका लागि शान्ति र शुसासन दिन, विकासको आफ्नै तरिकाबाट नेपाललाई तिब्र गतिको विकासमा लैजान सकिन्छ भन्ने उहाहरण देखाएको बताउनु भयो ।

‘जननेता मदन भण्डारीको योगदान स्मरण गर्ने गरी निर्माण गरिएको शालिक र त्यसबाट दिन खोजिएको सन्देश मुलुकको लोकतन्त्र र शासनपद्धतीसँग जोडिएको छ’–प्रधानमन्त्री ओलीले भन्नु भयो–‘जननेता मदन भण्डारीप्रति श्रद्धासुमन ब्यक्त गर्दछु । धुलिखेलमा शालिक निर्माण गरेकोमा नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।’

देशका लागि जीवन अर्पण गर्ने, देशका लागि सदैव सोच्ने, नयाँ बाटो दिन सक्ने नेताको निधन भएको लामो समय पछि पनि स्मरण गरेकोमा नगरपालिकालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिदै नेपालीहरुको कृतज्ञता ब्यक्त गर्ने परम्परालाई निरन्तरता दिएकोमा सम्मान ब्यक्त गर्नु भयो । धुलिखेल नगरपालिकाले आफ्नो सिमा भित्रका नगरपालिकालाई मात्रै नभई देशभरका नगरपालिकालार्य नेतृत्व गरिरहेकोमा विश्वास सहित नगर प्रमुख अशोक ब्याञ्जुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकामा पाँच वर्ष भित्र ६५ वटा पार्क निर्माण गर्ने लक्ष्य अनुसार हालसम्म ३६ वटा पार्क निर्माण गरिसकिएको बताउनु भयो । पर्यटन वर्षको अवसरमा प्रत्येक महिना एउटा पार्कको शिल्यान्यास गर्ने रणनीति नगरपालिकाले लिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले पर्यटकिय नगरी धुलिखेल पर्यटकमैत्री, वातावरण मैत्री, बालमैत्री, शैक्षिक, हेल्दिसिटी लगायतको नगरका रुपमा विकास गरिएको बताउनु भयो ।

काभ्रेभञ्ज्याङ्गमा निर्माण भएको पार्कका लागि नगरपालिका र बागमति प्रदेश सकारका तर्फबाट लगानी गरिएको छ । झण्डै ३० लाखमा निर्माण भईरहेको पार्क अनावरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, जनप्रतिनिधि एवं राजनीतिक दलका नेताहरु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

बनेपा सिन्धुली बर्दिवासको काभ्रेभञ्ज्याङ्ग खण्डमा निर्माण भएको मदन भण्डारीको शालिकसँगै पार्कले स्थानीय तथा पर्यटकहरुका लागि आर्कषकको केन्द्र बनाईने भएको छ । नगरपालिकाले धुलिखेलको देविस्थान मन्दिर लगायतका स्थानमा धमाधम पार्क निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्