तोकिएको समय अगावै झोलुङ्गे पुल निर्माण 



प्रताप बानियाँ, म्याग्दी ।
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, काफलचौर र कोत्राबाङ जोड्ने भारबाङ खोलामाथि निर्धारित समयभन्दा अगावै झोलुङ्गे पुल निर्माणसम्पन्न भएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोगमा गाउँपालिकाद्वारा उपभोक्ता समितिमार्फत पुल निर्माण गरिएको हो ।
गएको जेठ १९ गते गाउँपालिकासँग निर्माण सम्झौता भएको पुलको गत भदौ २१ गते निर्माणकार्य सुरु गरिएकोमा माघ पहिलो साता निर्माणसम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ । तर, झोलुङ्गे पुलको निर्माण अवधि भने २०७७ असार मसान्तसम्म रहेको छ । निर्माणको समय धेरै रहेपनि स्थानीय उपभोक्ताको सक्रियताका कारण निर्माणकार्य थालिएको ५ महिनाको अवधिमै पुल निर्माण भएको हो ।
झोलुङ्गे पुल निर्माणपश्चात् काफलचौर र कोत्राबाङका १ सय ४३ घरधुरीका ८ सय ५८ जना लाभान्वित हुनुका साथै कुहुँ, पूर्णगाउँ, टोड्के, सल्यान, बाबियाचौरका स्थानीयलाई समेत आवतजावतमा सहज भएको छ ।
कुल ४७ लाख सातहजार नौसय ३३ रुपैयाँको लागतमा निर्माणसम्पन्न झोलुङ्गे पुलमा मंगला गाउँपालिकाको दुईलाख ८७ हजार तीनसय सात, केन्द्रीय अनुदान (स्वाप) ३७ लाख २१ हजार पाँचसय २३, म्याट्रियल ग्राण्ड पाँचलाख ७४ हजार पाँचसय तीन रहेकोमा एकलाख २४ हजार छ सय रुपैयाँ स्थानीय श्रमदान रहेको छ ।
१ सय ४ मिटर लम्बाई, १ मिटर ६ सेन्टिमिटर चौडाई र पुलदेखि लठासम्मको उचाई १ मिटर १० सेमी रहेको झोलुङ्गे पुलले एक पटकमा ४ दशमलव १६ टन अर्थात् ६ सयजना मानिसको भार थाम्ने झोलुङ्गे पुल सहयोग इकाई (टिबिएसयु) पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारीले जानकारी दिए । करिब ५० वर्षको आयु रहेको झोलुङ्गे पुल निर्माणमा टिबिएसयु, प्रादेशिक प्राविधिक सहयोग प्रदायक (पिटिएपि) पोखराले र मिलन म्याग्दीले प्राविधिक तथा सामाजिक सहजीकरण गरेका थिए ।
सोमबार गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार स्थापना भएसँगै १ सय २१ ओटा पुलको निर्माण थालिएको बताए । उनले देशको विकासका लागि सङ्घीयता ल्याइएको बताउँदै विगतमा सुरु गरिएका विभिन्न विकास निर्माणका आयोजनाहरुलाई अहिले प्रदेश सरकारमार्फत तीव्रता दिइएको बताए ।
मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले नागरिकको आधारभूत आवश्यकतासँगै गाउँमै रोजगारी सिर्जना गर्नेगरी गाउँपालिकामार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले प्रदेश सरकारमार्फत गाउँपालिकामा आएको बजेट तथा कार्यक्रमको पूर्ण रुपमा कार्यान्वयन गरिएको जानकारी दिए ।
कार्यक्रममा पूर्व सांसद नवराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, पूर्वाधार विकास कार्यालय प्रमुख ओमराज ढुङ्गाना, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चन्द्रशेखर सापकोटा र मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको विशेष उपस्थिति थियो ।
कार्यक्रमको अवसरमा झोलुङ्गे पुल निर्माणमा जग्गा उपलब्ध गराउने सर्वजित घर्ती र ढकबहादुर खड्कालाई सम्मान गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष विरबहादुर खत्रीको स्वागत र मंगला माविका शिक्षक रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा हेमबहादुर खत्रीले झोलुङ्गे पुल निर्माणको विवरण प्रस्तुत गरेका थिए ।
तस्वीरःप्रताप बानियाँ, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्