प्रजातन्त्र दिवस भव्य रूपले मनाउन मूल समारोह समिति गठन



वासुदेव शर्मा, जाजरकोट । 

जाजरकोट ७०औं प्रजातन्त्र दिवस भव्य रूपले मनाउनका लागि दिवस मूल समारोह समिति गठन भएको छ। जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा जिल्ला समन्वय समिति मनबहादुर रावलको अध्यक्षतामा ५१ सदस्य रहने गरी दिवस मूल समारोह समिति गठन भएको हो।

एकतन्त्रीय निरंकुश पञ्चायती राज्य व्यवस्थाको अन्त्य गरी देशमा आमूल परिवर्तन आएको दिनका रुपमा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। यसै सन्दर्भमा जाजरकोटमा पनि भव्य रूपमा मनाउन जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत सरकोकारवालाहरूको उपस्थितिमा दिवस मुल समारोह समिति गठन गरिएको छ।

जनताको त्याग, तपस्या र बलीदानीबाट देशमा आमूल परिवर्तन भएको नागरिकलगायत सवैको खुसीयालीको दिन भएकोले प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ। यस वर्ष पनि तीन दिन प्रजातन्त्र दिवस मनाउनका लागि मूल समारोह समिति गठन गरिएको छ।

६ गते जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मीलगायत नागरिक समाजले खलंगामा सरसफाइ गर्ने, ७ गते बिहान प्रभातफेरि कार्यक्रम गरी सभामा परिणत भएर प्रजातन्त्रले ल्याएका सुखशान्तिलगायतका विषयमा प्रवचन कार्यक्रम गर्ने, सरकारी तथा गैरसरकारी कार्यालयलगायत सबैले तीन दिनसम्म दिपावली गर्ने, ८ गते ३ दिनसम्म सञ्चालन गरिएको प्रजातन्त्र दिवस समापन गर्ने कार्यक्रम तय भएको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि नागरिक समाजलगायत सरोकारवालालाई प्रजातन्त्र दिवस मनाउन आग्रह गर्नुभएको छ।

जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जनतालाई अन्धकारबाट उज्यालोतर्फ ल्याएको दिनका रूपमा खुसीयालीस्वरुप मनाउन सरोकारवालालाई आग्रह गर्नुभयो। नेपाल सरकारको मुख्य दिवसका रूपमा रहेकाले सबै एकजुट भएर कार्यक्रमलाई भव्य र सभ्यरूपमा सम्पन्न गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो।

प्रजातन्त दिवसकै दिन निर्वाचन दिवस पनि परेकाले जिल्ला निर्वाचन कार्यालय जाजरकोटले त्रिभुवन माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता पनि गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्