बीओपी स्थापना गरिने गागा क्षेत्रको उपप्रधानमन्त्री पोखरेलद्वारा हवाई निरीक्षण



किरण धामी, दार्चुला ।

सशस्त्र प्रहरी बलको (बीओपी) स्थापना गर्न सिफारिस गरिएको दार्चुलाको ब्याँस गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार हवाई निरीक्षण गर्नुभएको छ।

ब्याँस गाउँपालिकाअन्तर्गत पर्ने भारतले मिचेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको स्थलगत अनुगमन निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बिहान त्यसतर्फ प्रस्तान गरेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल नेतृत्वको टोली सशस्त्र प्रहरीको बीओपी स्थापना गरिने गागा क्षेत्रको हवाई निरीक्षण गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो।

कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा अवस्थाबारे निरीक्षण गर्न गएको टोली उक्त क्षेत्र नपुगी फर्किएको छ। बाक्लो हिउँ जमेका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भएका कारण उपप्रधानमन्त्री नेतृत्वको टोली गागा छांरु क्षेत्रबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी बताउनुभयो।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल नेतृत्वको अनुगमन टोलीमा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सांसदद्वय मानबहादुर धामी र गेल्बुसिंह बोहरा रहनुभएको थियो।

उपप्रधान एवं रक्षामन्त्री पोखरेल गागा क्षेत्रको हवाई निरीक्षणबाट फर्किएलगत्तै प्रेस सेन्टर दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइने बताउनुभएको छ।

नेपाल सरकार मन्त्रिपरिषद् स्तरीय बैठक बसी दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय हुन बाँकी रहेको तथा अन्य काम प्रक्रियामा रहेको मन्त्री पोखरेलले बताउनुभयो। साथै उहाँले गागा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गर्न आवश्यक बन्दोबस्तीका सामग्री खरिद गरिसकेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्