कृषक समूह च्याउ खेतीमा आकर्षित



अमृत अर्याल, स्याङ्जा।
नगरपालिकाले वितरण गरेको च्याउको बीउबाट घरमा खान मात्रै नभई बिक्रीवितरण गर्नसमेत पुगेपछि कृषक समूहले अहिले आफै बीउ खरिद गरी च्याउ लगाउने काम शुरु गरेका छन्

स्याङ्जाको गल्याङ नगरपालिका–३ वल्पुकका किसान च्याउ खेतीप्रति आकर्षित भएका छन् । वल्पुक कृषक समूहमा आबद्व कृषकहरु च्याउ खेतीतर्फ आकर्षित भएका हुन् । समूहमा आबद्व किसानलाई यसअघि गल्याङ नगरपालिकाले निःशुल्करुपमा च्याउको बीउ वितरण गरेको थियो ।

१५ जना स्थानीय कृषक रहेको समूहमा अहिले व्यवसायिक रुपमा नै च्याउ खेती गर्नका लागि तयारी थालिएको उहाँले बताउनुभयो । च्याउबाट धेरै उत्पादन गर्ने तरिकाबारे जानकारी लिँदै स्थानीय कृषकहरुले च्याउको उत्पादनलाई अझै बढाउने बताएका छन् ।

गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकालले च्याउका लागि पराल बनाउने, डल्ला पार्ने, बीउ राख्ने तरिका सिकाउनुभएको थियो । उहाँले वल्पुुकका कृषकमा च्याउ खेतीप्रति आकर्षण बढेको भन्दै उत्साही किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

यसअघि तालिमबिना लगाइएको च्याउ खेतीबाट पनि राम्रो आम्दानी भएकोमा अब केही सीपको विकास भएकाले आफुहरुमा अझै उत्साह थपिएको बताउँदै समूहकी अध्यक्ष बस्यालले बताउनुभयो– ‘उत्पादन राम्रो भएमा बजारको कुनै समस्या छैन ।’

स्थानीय कृषकहरुका लागि यस्ता कार्यक्रम प्रभावकारी रहने भन्दै उहाँले किसानको आग्रहमा आफु सम्बन्धित ठाउँमा नै पुगेर आवश्यक सीप प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्