लमजुङ दरबारमा अस्थायी प्रहरी पोस्ट



शिक्षा पन्त, लमजुङ। 

स्थानियबासीले पटक–पटक प्रहरी चौकीको माग गरेपछि अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ ।

बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबारमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो । अस्थायी प्रहरी पोस्टको उद्घाटन बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गर्नुभएको छ । प्रहरी पोस्ट स्थापना गरेसँगै नगरप्रमुख अर्यालले पोस्टमा खटिएका प्रहरीलाई इमानदार, कर्तव्यनिष्ठ र जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डीएसपी रविन्द्रमान गुरुङले गाउँशहर पर्यटकीय क्षेत्र भएकाले अपराधिक गतिविधि नहोस् भनेर अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको बताउनुभयो ।

शान्ति सुरक्षालाई मध्यनजर राखेर अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको डीएसपी गुरुङको भनाइ छ । अस्थायी प्रहरी पोस्टमा हवल्दारको नेतृत्वमा ४ जना प्रहरी खटाइएको छ । विगतको घटनाको विश्लेषण, बेसीशहर नगरपालिकाको अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम गाउँशहर दरबारमा प्रहरी पोस्ट स्थापना भएको बेंसीशहर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्