यूएई पठाइदिने बहानामा तालिम दिँदै ठग्दै



नेपाल समाचारपत्र, काठमाडौं।

बर्दिबास महोत्तरीकी मनीषा फुँयाल बूढानीलकण्ठ बस्थिन्। होटल म्यानेजमेन्टसम्बन्धी विषयमा रुचि राख्ने उनलाई झन्डै सात वर्षअघि सामाजिक सञ्जालमा देखिएको एक विज्ञापनले लोभ्यायो।

विज्ञापनमा भनिएको थियो– ‘६ महिने तालिम लिएपछि यूएईको पाँचतारे होटलमा शतप्रतिशत रोजगारको ग्यारेन्टी।’ यति मात्रै होइन, उक्त इन्स्टिच्युटमै तालिम लिएकै आधारमा युरोपको चर्चित विश्वविद्यालयबाट समेत प्रमाणपत्र पाउने अभिलासाले उनलाई झनै लोभ्यायो।

उनी लगनखेलस्थित इन्टरनेसनल इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्ट प्राइभेट लिमिटेडमा पुगिन्। त्यहाँ उनले ६ महिने कुकिङ तालिम लिइन्। तालिम सकियो। उनले सन् २०१३ मे महिनामा उक्त इन्स्टिच्युटबाट प्रमाणपत्रसमेत पाइन्। त्यसको तीन वर्षपछि सन् २०१६ अगस्टमा युरोपस्थित पोल्यान्ड देशको विश्वविद्यालयबाट युरोपियन डिग्री भनी जारी भएको दुई थान प्रमाणपत्र सोही इन्स्टिच्युटमार्फत नै हात पारिन्।

तालिम लिइसकेपछि प्राप्त ती प्रमाणपत्र बटुलेर उनी विज्ञापनअनुसारै यूएईको पाँचतारे होटलमा जान आतुर थिइन्। उनले प्राप्त गरेको प्रमाणपत्रलाई रुजु गर्नुपर्ने भयो। प्रमाणपत्रको रुजु गर्न सोही इन्स्टिच्युटलाई अनुरोध गर्दै पोल्यान्ड पठाइयो। केही समयपछि उक्त प्रमाणपत्र रुजु भई आफ्नो हातमा फिर्ता पर्दा प्रमाणपत्रको लोगो र रुजु भएर आउँदाको लोगो फरक पाइन्।

त्यसपछि उनलाई आफ्नो प्रमाणपत्र नक्कली भएको शंका लाग्यो।

यति मात्रै होइन, उनलाई तालिम दिने कम्पनी भनिएको संस्था नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट समेत मान्यता नपाएको पत्ता लाग्यो।

उनले तालिम अवधिभर उक्त तालिम दिने संस्थालाई १ लाख ६० हजार रुपियाँ बुझाइसकेकी थिइन्। त्यत्ति बेला उनले आफूलाई तालिम दिने संस्थाबाट ठगिएको भेउ पाइन्। अन्य साथीलाई जम्मा पार्नतिर लागिन्। उनलाई ४२ जना अन्य विद्यार्थीले समेत आफूहरू पनि ठगिएको भन्दै उजुरी दिन राजी भए। सञ्चालकहरूले अधिकांशको १ लाख ५० हजार रुपियाँ र केहीको तीनदेखि चार लाख रुपियाँसम्म ठगी भएको उनीहरूको दाबी छ।

त्यसपछि, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा आफूहरूलाई विभिन्न प्रलोभनमा पारी ६ महिनाको डिप्लोमा इन प्रोफेसनल कुकरी एन्ड बेकरी नामक ७ सय ९२ घन्टाको कोर्स गर्न लगाई ठगी गरेको उनीहरूले आरोप लगाए। जाहेरी परेपछि अनुसन्धान सम्पन्न गरेर सीआईबीले इन्स्टिच्युटका तत्कालीन सञ्चालकहरू रन्जित थापा, सुरज प्रसाईं, मनोज भण्डारी, विक्रम श्रेष्ठ ललितपुर जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भयो।

तत्कालीन सञ्चालक रन्जित थापा समेतबाट जाहेरवालाहरूलाई ८१ लाख ९१ हजार रुपियाँ दिलाई दिनसमेत मागदाबी लिई अभियुक्त सञ्चालकहरूलाई हदैसम्म सजायको माग दाबी लिइएको थियो।

२०७५ माघ २५ मा दर्ता मुद्दामा यही वर्षको माघ २४ गते फैसला गर्दै जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ती सञ्चालकहरूलाई ठगी मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको छ।

जाहेरवालाहरू शिखरकिराती राई, मनीष फागो, प्रशान्त शाक्य, ऐश्वर्या थापा, प्रज्ववल कटुवाल र शिव श्रेष्ठसमेत ६ जनाको १४ लाख ७५ हजार बिगो दाबी गरेको हकमा अभियोग दाबी नपुगेको भन्दै अन्य जाहेरवाला मनीषा फुँयालसमेत ३६ जनाको बिगो ६६ लाख ७१ हजार रुपियाँ बराबरको रकमको माग दाबी पुग्ने भएकोले अभियुक्तहरू कसुरदार रहेको ठहरिने फैसला इजलासले सुनाएको छ।

प्रतिक्रिया दिनुहोस्