गुम्बालाई एम्बुलेन्स र मेडिकल उपकरण सहयोग



भक्तपुर, (नेस)

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो सिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरू र एउटा मालबाहक गाडी सहयोग गरेको छ। नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलानहोभोर्काले एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गर्नुभएको हो।

एम्बुलेन्समा आपत्कालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणसमेत जडान गरिएको छ। चेक रिपब्लिकले स्पाइनबोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आइभिलाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथलगायतका सामग्री हस्तान्तरण गरेको हो। सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियो।

‘यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं। हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दालाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ’, हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भन्नुभयो– ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं।’

त्यसैगरी, धाग्पो सिडरब लिङ फाउन्डेसनका प्रतिनिधि लेक्से घलेले सहयोग र साझेदारीका लागि चेक रिपब्लिकका जनता, चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसन र चिकित्सकीय क्षेत्रमा काम गर्ने चेक संस्था मेडेभ्याकप्रति कृतज्ञता प्रकट गर्नुभयो। ‘एम्बुलेन्सलाई गुम्बाका विद्यार्थी मात्र होइन, नालामा बसोबास गर्ने जोसुकै बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिनेछ’ –उहाँले भन्नुभयो।

नाला क्षेत्र सुविधा सम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करिब २० किलोमिटर टाढा पर्छ। यहाँबाट सार्वजनिक यातायातमा सुविधा सम्पन्न अस्पतालमा पुग्न करिब दुई घन्टा लाग्छ, जसले गर्दा बिरामीको ज्यान जाने जोखिम रहन्छ।

चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पु¥याउन सहयोग गर्ने अपेक्षा गरेको छ। नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ। यो संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाइ र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्