सरकार आलोचित हुनुमा “वीरबलहरू”को हात



भरत योगी

सानैमा राजा अकबर र वीरबलको कथा बहुतै उत्साहका साथ पढिन्थ्यो। ती कथा प्रायः अहिले पनि सान्दर्भिक छन्। मूलतः घटनाको मर्म बुझ्न वीरबल खप्पिस थिए। उनी चलाख थिए। समस्या समाधान बडो बुद्धिमताका साथ गर्ने गर्थे। कहिलेकाहीँ सोच्छु– हाम्रो मुलुक हाँक्नेहरूका सल्लाहकार अकबरका सल्लाहकार वीरबलजस्तै हुँदा हुन् त हामी प्रजा कति भाग्यमानी हुने थियौं।

कुनै एक व्यापारी गलैंचा बेच्न शहर जान्छ। बाटोमा एउटा नदी पार गर्नुपर्ने हुन्छ। जसका लागि उसले माझीको सहयोग लिन्छ। व्यापारी नयाँ भएकाले माझीले नदी पार गराइसकेपछि उसको सामान गलैंचा हडप्छ र भगाउँछ। आफू माझीद्वारा ठगिएको कुरा लिएर उक्त व्यापारी दरबार जान्छ र घटनाको बेलिबिस्तार गर्छ। माझीलाई बोलाएर सोधिन्छ। माझीले उक्त गलैंचा आफ्नै भएको र व्यापारीले झुट बोलेको जिकिर गर्छ। सधैँजसो वीरबललाई सत्यतथ्य बुझ्ने जिम्मा दिइन्छ।

अर्को दिन भेष बदलेर वीरबल माझीकोमा सोही गलैंचा किन्न जान्छन्। उक्त सामानको मूल्य सोधेर बार्गेनिङ गर्न थाल्छन्। माझी तोकिएको भन्दा आधा मूल्यमा दिन तयार हुन्छ। लगत्तै वीरबल उजुरी गर्ने व्यापारीकोमा गएर सोध्छन्– ‘त्यो गलैंचाको मूल्य कति हो ? म किन्छु।’ व्यापारीले आफ्नो मेहनत धेरै परेकाले मूल्य कम गर्न नसक्ने बताउँछ। केही सीप नलागेपछि उनी फर्किन्छन्।

वीरबलले बुझिहाल्छन कि माझीले झुट बोलेको रहेछ। किनकि गलैंचामा उसको मेहनत नभएकोले जति पैसामा पनि बेच्न तयार हुन्छ। तर व्यापारीले मूल्य घटाउन सक्दैन। किनकि गलैंचामा उसको मेहनत परेको हुन्छ। ऊ घाटा खान चाहँदैन। भोलिपल्ट दरबारमा व्यापारी र माझीलाई बोलाइन्छ। सबै कुरा प्रस्ट पार्दै माझीलाई सजायको भागीदार बनाइन्छ। जसको गलैंचा हो त्यही व्यापारीलाई फिर्ता दिइन्छ।

न्यायिक शासन प्रणाली भनेको शायद यही हो। सत्यतथ्यको खोजबिन गरिन्छ, गहिराइमा पुगिन्छ र बल्ल उचित ढंगको सुनुवाइ गरिन्छ अनि निर्णय गरिन्छ। यस्ता किसिमका कहानीका पात्रहरूको प्रवृत्ति र हाम्रो व्यवस्थामा भएका पात्रहरूबीच तुलना गर्न मन लाग्नु स्वाभाविक हो। किनकि कथा समाजको प्रतिनिधि घटना मात्र हुँदैनन्, भोगाइ पनि हुन्छन्। अझ राजा अकबरको सफलताको इतिहास त झन् लोभ लाग्दो नै छ।

हाम्रा वीरबलहरूसँग घटनाको मर्म बुझ्ने सामथ्र्य, क्षमता किन हुँदैन ? उनीहरूले गर्ने निर्णयहरू हचुवाको भरमा, मालपानी, दारूपानी अथवा अनेक पानीको भरमा मात्र हुन्छन्, किन ? क्षणिक लोभले भविष्य अन्धकारमा हुने गरी अनि आफू पतन हुने गरी किन प्रस्तुत हुन्छन् ? किन विनातुकको निर्णय गरेर सत्यलाई सस्तोमा बेच्न तल्लीन हुन्छन् ? किन चोक–चोकमा, गल्ली–गल्लीमा जीउहजुरी गर्नेको बिगबिगी हुन्छ ? अनि समाजमा चहलपहल पनि, हैकम पनि तिनैको। आखिर किन ? प्रश्न जटिल हुँदै होइन तर जब यी र यस्ता प्रश्नको उत्तर खोज्न थालिन्छ र उत्तर भेटिन्छ, तब बल्ल समृद्धि आउँछ। बुझौं यसरी कि समृद्धिको बाधक तत्व त्यही प्रवृत्ति हो। वीरबलहरूजस्ताकै कारण शासक राजा अकबर सफल भएका हुन्।

यो कुरा सत्य हो कि अकबर आफैंमा दूरदर्शी पनि थिए। तर हाम्रा अकबर असफल हुने मार्गमा हिँड्नुको पछाडिको कारण अनुमान गर्न गाह्रो छैन। वीरबलको दूरदर्शिता, चतु¥याइँ र न्यायिक शैलीले राज्य समुन्नत मात्र थिएन, खुशीयाली पनि थियो। थिचोमिचोमा कोही पर्दैनथे। परिहाले वीरबलले न्याय दिलाउन कुनै कसर बाँकी राख्दैनथे। माथिको प्रसंगजस्तै चाहे त्यसको लागि जुनसुकै विधि अपनाउन किन नपरोस्, सबैप्रति समान सदासय रहन्थ्यो, जिम्मेवारी हुन्थ्यो।

आज सरकारको आलोचना भैरहेको छ त यिनै सल्लाहकार ‘वीरबलहरू’का कारणले, जसले आफ्नो पक्ष वा हितमा हुने कुरा मात्र राज्य सञ्चालकहरूमा पु¥याएका छन्। यदि त्यसो नहुँदो हो त किन सामान्य कुरामा राज्य र व्यापारीबीच बिचौलिया अनि माफियाहरूले यसरी ठूलो खाडल बनाएका हुन्थे ?

किन राज्यको ढिकुटीको आधार कर प्रणालीबाट जनता तर्सिएका हुन्थे ? अर्थको शक्तिकेन्द्र अरू धेरै होलान् तर महत्वपूर्णमध्येको कर प्रणालीबाट आमनागरिक किन सशंकित र निरास छन् ? त्यो भ्रम चिर्ने कसले ? व्यवहारमा हेर्ने हो भने सानातिना व्यवसाय गरेकाहरूको उठिबास लगाउने गरी कर तिराउन राज्य क्रूरताका साथ प्रस्तुत हुन्छ।

तर ठूला करदाता कम्पनी एनसेलजस्ताको मिनाहा गर्ने वकालत हुन्छ, इमान बेची–बेची वकिल तँछाडमछाड गर्छन्। या भनौं तिराउन नसक्ने स्थिति आउँछ। त्यो कसरी ? यी वीरबलबाहेक कसको हिम्मत ? इतिहासले यसको पनि हिसाबकिताब गर्नेछ। जब हिसाब टुंगिन्छ, कसको भागमा के रहला ? यिनले हेक्का गर्नुपर्दछ।

अतः चुरो कुरो के भने, सही सूचना सम्प्रेषण गर्ने जिम्मेवारी सल्लाहकारकै हो। सीधा कुरा के भने, ढुंगाको कारण हैन मूर्तिकारको कारण मूर्ति सुन्दर देखिन्छ भनेझैँ सही सल्लाहकारका कारण सरकार सफल हुने हो। आफ्नो खल्ती भर्ने सल्लाहकारहरूबाट बचौं। आफ्ना गल्ती स्वीकारौं अनि सुधारौं। विज्ञहरूको राय सुनौं। कार्यकर्ता व्यवस्थापनका नाममा मुलुकलाई अन्धकारमा धकेल्ने काम रोकौं। सज्जनकै संगतले हो सत्मार्गमा हिँड्न सजिलो हुने।
(लेखक योगी हाल युएईमा हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्