वसन्तपुरमा स्पोर्टस् अवार्ड आज हुँदै



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस् अवार्डको १४औं संस्करणको अवार्ड कार्यक्रम आज हुँदै छ।
वसन्तपुरको डबलीमा हुने सो स्पोर्टस् अवार्डबाट विभिन्न २८ खेलका पुरुष र महिलासहित २८ खेलाडी पुरस्कृत हुनेछन्।

यसपटक अवार्डमा प्रतिभावान् पुरुष र प्रतिभावान् महिला खेलाडी विधा थप गरिएको छ। यी दुवै विधाका उत्कृष्ट हुने खेलाडीले ५०/५० हजार रकम पुरस्कार प्राप्त गर्नेछन्। यसका लागि गत फागुन २ गते एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकासँग संघको सम्झौतासमेत भएको थियो। यस्तै, सो अवार्ड कार्यक्रममा नेपाली खेलकुदमा योगदान दिनु हुने व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिइनेछ।

२०७५ सालमा इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा सहभागी खेललाई आधार मानेर ती खेलबाट उत्कृष्ट खेलाडी चुनिने संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराउनुभयो। श्रेष्ठले तयारीसमेत पूरा भएको भन्दै बताउनुभयो।

सबै पूरा भइसकेको छ। यसपटक हामी धेरै नै व्यस्त भयौं, यसैले पनि हामीले आज अवार्ड आयोजना गर्दैैै छौं भनेर गरिने पत्रकार सम्मेलन पनि गर्न सकेनौं। यसपटक नयाँ दुई विधा थपिएको छ।

अवार्डको विशेषता भनेको विभिन्न ऐतिहासिक सम्पदास्थलमा आयोजना गर्नु हो। पछिल्ला समयमा पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरिएको थियो। यसपटक संघले काठमाडौंको वसन्तुपर डबलीलाई अवार्ड कार्यक्रम स्थल छनोट गरेको छ। यसमा श्रेष्ठले प्रकाश गर्नुभयो– ‘हामीले विभिन्न सम्पदामा अवार्ड आयोजना गरेका छौं।

त्यसलाई नै यसपटक पनि निरन्तरता दिएका छौं। वसन्तपुरमा अवार्ड गर्दा विभिन्न जिल्लाबाट आउनुभएका खेलाडी, खेल पदाधिकारीको काठमाडौंका स्थानीयसँग आत्मीयता बढोस् भन्ने हाम्रो चाहना छ।’ त्यस्तै, पर्यटकहरूले पनि हाम्रो अवार्ड समारोह हेरेर उनीहरूको आ–आफ्ना देशमा यहाँ यस्तो हुन्छ है भनेर सन्देश दिनेछन् भन्ने पनि हामीले आशा गरेका छौं।

प्रतिक्रिया दिनुहोस्