विकास आधुनिकता र सामाजिक न्यायतर्फ: प्रधानमन्त्री

‘धुलिखेल र काभ्रे नेपालकै नमुना बन्नुपर्छ’



मोतीराम तिमल्सिना, काभ्रे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास, आधुनिकता र सामाजिक न्यायतर्फ अगाडि बढेको बताउनुभएको छ।

‘धुलिखेल नगरपालिका देशभरका नगरपालिकाहरूको मियो बन्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘काभ्रे उर्वर प्रतिभा जन्माउने जिल्ला हो। धुलिखेल र सिंगो काभ्रेले देशको नेतृत्व गर्न सक्नुपर्छ।’

धुलिखेल नगरपालिकाको ३४औं वार्षिकोत्सव, वडा नम्वर ३, ४, ५, ६ र ७ लाई बालमैत्री वडा घोषणा तथा जननेता मदन भण्डारीको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक रूपमा तुलो जोखिँदा काभ्रेबाट प्रतिनिधित्व गर्ने मन्त्री गोकुल बाँस्कोटा एकातिर हुने गरेको प्रसंग उक्काउँदै सरकारका विरोधीहरूले विरोध गर्दा पहिलो मन्त्री बाँस्कोटा आउने गरेको बताउनुभयो।

मन्त्री गोकुल बाँस्कोटा, काठमाडांै विश्वविद्यालय, धुलिखेल नगरपालिका र नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु देशका नमुना भएकाले काभ्रे भाग्यमानी जिल्ला भएको प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क छ। नमोबुद्ध, विभिन्न शक्तिशाली शक्तिपीठसमेत भएका जिल्लाको विकासका लागि देशभरिका जिल्ला र नगरपालिकामध्ये नमुना बन्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो।

‘मुलुक परिवर्तनको तीव्र बेगमा अगाडि बढेको छ, केही मानिस परिर्वतनबाट अत्तालिन थालेका छन्। सडकमा अब तारका झुप्पा देखिने छैनन्, सुरुङ युगमा प्रवेश गरिएको छ, कोटेश्वर–धुलिखेल खण्ड फराकिलो बनाउँदै राजधानीसँग काभ्रेलाई सहज बनाइनेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘देश विकासको सिँढी चढिरहेको छ, हरेक दिन युगान्तकारी विकासका काम अगाडि बढेको छ, एउटा नयाँ युगको प्रारम्भ भएको छ।’

मुलुकका ८८ प्रतिशत घरमा केन्द्रीय विद्युत् लाइन पुगेको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्षमा बाँकी १२ प्रतिशत जनताको घरमा विद्युत् पु¥याउने गरी काम भइरहेको बताउनुभयो। ‘मेलम्ची खानेपानी आयोजना ल्याएर काठमाडौंको खानेपानी अभाव न्यून गर्न सरकार क्रियाशील भइरहेको छ, ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भइरहेको छ, सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति लिएको छ, नागरिकहरूको स्वास्थ्य बीमा, बैंक खाता, कृषिमा आधुनिकीकरण, बालबालिकाहरू शतप्रतिशत विद्यालय जान थालेका छन् भने विद्यालय छाड्ने क्रम रोकिएको छ, पछाडि परेको समुदाय, महिलाहरूको उत्थानका लागि नयाँ कार्यक्रम, प्रतिभा बाहिरिने क्रम रोकिएको छ, सडकमा बस्नुपर्ने मानव हुँदैनन, खान लगाउन नपाएर कसैले मर्नुपर्दैन’, प्रधानमन्त्री ओलीको कथन छ– ‘विकासका कुरा पुँजीपतिले पैसा कमाउने मात्रै होइन, भ्रुणदेखि बाँचुन्जेलसम्मका लागि हेरचाह गर्ने विकासको अभियान शुरु भएको छ।’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेसँगै सिंगोे देश परिर्वतनको दिशामा अगाडि बढाउनुभएको प्रधानमन्त्रीका अगाडि कुनै माग राख्न जरुरी नरहेको बताउनुभयो। उहाँले हामी सबै विकासमा अगाडि बढ्ने बताउँदै विकास, प्रगति, न्याय र समानताका साथ सरकार अगाडि बढ्ने बताउनुभयो।

काभ्रे देशको विकासको गतिसँगै अगाडि बढेको बताउनुभयो। खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले धुलिखेल नगरपालिकाले सबै क्षेत्रलाई समेटेर विकास अगाडि बढाएकोमा खुसी लागेको भन्दै धुलिखेल नगरपालिकाको प्रशंसा गर्नुभएको थियो। धुलिखेल नगरपालिका नगरप्रमुख अशोककुमार ब्याञ्जू धुलिखेल नगरपालिकालाई २० वर्षभित्रमा नेपालकै नमुना नगर बनाउने गरी काम गरिरहेको बताउनुभयो। एक घर एक धाराअन्तर्गत २ हजार १ सय ११ घरमा धारा पु¥याइएको, खानेपानी सम्मेलन, एकीकृत खानेपानी, ४० किमि सडक नयाँ र ६ किमि सडक कालोपत्रे गरिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्