३४ अंकले बढ्यो नेप्से



काठमाडौं, (नेस)।
शेयर बजारमा सोमबार चमक देखिएपछि लगानीकर्ता खुसी देखिएका छन्। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेको छ। लगातार उकालो लागेको बजारमा सोमबार नेप्सेले नयाँ उचाइ कायम गरेपछि लगानीकर्ता उत्साहित बनेका हुन्। यसदिन नेप्से परिसूचक ३४ दशमलव २४ अंकले बढेर एक हजार ३९८ दशमलव २४ विन्दुमा पुगेको छ।
यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव शून्य ४ अंकले वृद्धि भई २९३ दशमलव ८६ विन्दुमा पुगेको छ। सोमबार कूल १ सय ७५ कम्पनीका ६४ लाख ७४ हजार ७ सय ५० कित्ता शेयर दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४ सय ४२ रुपियाँमा खरिदबिक्री भएका छन्।
कारोबार भएका कूल १२ उपसमूहकै शेयर सोमबार उकालो लागेको छ। बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन, अन्य, लघुवित्त, जीवन बीमा र सामूहिक लगानी कोषको कारोबार वृद्धि भएको छ।
कारोबारका आधारमा सोमबार शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड ९४ लाख ९० हजार २ सय ३८ रुपियाँ बराबरको शेयर खरिदबिक्री भएका छन्।
यसदिन पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन्। त्यस्तै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ६३ प्रतिशत घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्