खरिपाटीमा चौबिसै घन्टा चिकित्सकको निगरानी



नेपाल समाचारपत्र, भक्तपुर । 
कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको उद्गम स्थलका रूपमा रहेको चीनको वुहानबाट ल्याई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीलाई नेपाली सेनाका डाक्टरको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले २४ घन्टा नै निगरानी गरिरहेको छ। दिनको दुईपटक स्वास्थ्य जाँच हुने र संक्रमण वा अरू बिरामी भएको पाइएमा तुरुन्तै अस्पताल लैजाने व्यवस्था रहेको छ।
क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै सबैको आवश्यक परीक्षणका लागि खकार र सिंगान लगिएको छ। आइतबार बिहान देखि ९ बजेदेखि  खटिएका सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाह नेतृत्वको १० जना चिकित्सकको टोलीले चीनबाट ल्याइएका नेपालीको थ्रोट स्वाब र नेजल स्वाब गरेका हुन्। डा. शाहले भन्नुभयो– ‘हामीहरूले आइतबार ४ घन्टा लगाएर संकलन गरेको ‘थ्रोट स्वाब’ यति बेला जनस्वास्थ्य प्रयोगशालामा पु¥याइएको छ।’ यसको रिपोर्ट बुधबारसम्म आउने चिकित्सकले जनाएका छन्।
चिकित्सकमध्ये एकजनाले नमुना निकालेको र अर्काले प्याकिङ गरेर ३ लेयर सिस्टममा राखेर कोल्ड चेन बक्समा राखेको र त्यस क्रममा उच्च सतर्कता अपनाएको डा. शाहले बताउनुभयो। क्वारेन्टाइन सेन्टरको बाहिरी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ। नेपालबाट चीनमा रहेकालाई लिन गएका र सोही विमानमा आएकाहरूलाई छुट्टै भवनमा क्वारेन्टाइनमा राखिएको छ। सबैलाई दुई हप्ता निगरानीमा राखिने जनाइएको छ।
उनीहरूको निगरानीमा खटिनुभएकी नेपाली सेनाको अस्पतालमा कार्यरत कर्णेल डा. मुन थापाले सबैजना स्वस्थ भएको हुनाले कुनैलाई पनि मानसिक तनाव पनि नआउला भन्ने लागेको बताउनुभयो। लामो समयसम्म यतिकै बस्नुपर्ने हुनाले कुनै स्वास्थ्य वा मानसिक समस्या आउन सक्छ भनेर साइको सोसल सपोर्टको टिम पनि खटाइएको उहाँले बताउनुभयो।
डा. थापाले आइतबारदेखि सोमबार साँझसम्म कुनै पनि विद्यार्थीमा समस्या नआएको जानकारी दिनुभयो। उहाँले विपद्जन्य परिस्थितिका बेला आगामी दिनमा सरकारको तर्फबाट पूर्वतयारीका कामहरू अझ बलियो तयारी हुनुपर्ने बताउनुभयो। स्थायी क्वारेन्टाइनको स्थापना र आइसोलेसन डिपार्टमेन्टको पनि राम्रो व्यवस्था हुनुपर्नेमा उहाँको जोड थियो।
यता क्वारेन्टाइनमा राखिएकाले आफूहरू सुरक्षित भएको बताएका छन्। नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरूले नेपाल आइपुगेपछि पनि आफूहरूले विश्व स्वास्थ्य संगठनको अन्तर्राट्रि«य मापदण्डअनुसार सेवासुविधा पाएकोमा खुसी व्यक्त गरे। चीनमा पीचएडी अध्ययनरत रही हाल क्वारेन्टाइनमा रहेका दिगम्बर खोतेजाले टेलिफोमै भन्नुभयो– ‘हामी सबैजना ठीक छौं, यहाँं सबै कुरा ठीकठाक छ। त्यसकारण कसैले केही पनि चिन्ता लिनुपर्ने अवस्था छैन।’
क्वारेन्टाइन सेन्टरमा रहेकाहरूका लागि बिहान ६ देखि ७ र दिउँसो ३ देखि ४ बजेसम्म गरी दुई पटक खाजाको व्यवस्था तथा बिहान ११ तथा बेलुका सात बजे खानाको व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्