महरालाई सफाइ, तुम्बाहाम्फेलाई मन्त्री, ‘आरोप गलत सावित भएको छ’

सरकारले उच्च अदालतमा पुनरावेदन दिने



विकास भट्टराई/मधुसूदन रायमाझी, काठमाडौं।

शेष घटना र सन्दर्भका कारण विवाद तथा चर्चामा रहेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले एकैदिन सफाइ र पद प्राप्त गर्नुभएको छ। बलात्कारको प्रयास गरेको भनी आरोप लागेका महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएको छ भने सरकारले तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाएको छ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले सरकारले लगाएको आरोप दाबी पुग्न नसक्ने उल्लेख गर्दै पूर्वसभामुख महरालाई सफाइ दिएको हो।
संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गर्न खोजेको आरोप लागेपछि महरालाई गत असोज १९ गते पक्राउ गरी हिरासतमा राखिएको थियो। सो आरोप लागेपछि महराले भने सभामुख पदबाट सोही महिनाको १४ गते नै राजीनामा दिनुभएको थियो।

अदालतले सफाइ दिएपछि महरा सोमबार नै डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ। अदालतबाट सफाइ पाएको पत्र पाएपछि कारागारले उहाँलाई रिहा गरेको हो। उहाँ १ सय ११ दिन कारागार बस्नुभएको थियो।

सरकारले मुद्दा दायर गरेपछि काठमाडौं जिल्ला अदालतले तारेखमा छुटाउन अस्वीकार गरेको थियो। आफूलाई तारेखमा रिहा गर्न अस्वीकार गरेपछि उहाँ त्यसविरुद्ध उच्च अदालत पाटन जानुभएको थियो। सो अदालतले पनि उहाँलाई तारेखमा रिहा गर्न अस्वीकार ग¥यो। काठमाडौं जिल्ला अदालतमा भएको अन्तिम बहसमा भने उहाँमाथिको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिइएको छ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पीडित भनिएकी महिलाले अदालतमा वकपत्र गर्दा महराले आफूलाई जबरजस्ती गर्न नखोजेको भनी उल्लेख गरेकीले महरालाई सफाइ दिएको जानकारी दिनुभयो।

यसै गरी फरेन्सिक रिपोर्टको आधारबाट पनि महरा निर्दोष देखिएको भनी प्रारम्भिक फैसलामा उल्लेख भएको स्रेस्तेदार श्रेष्ठले बताउनुभयो। फरेन्सिक परीक्षण गर्दा महराको औंठाछाप नभिडेको भनी उल्लेख भएको बताइएको छ।

यसै गरी पीडित भनिएकी महिलाले आरोप लागेको दिन महरा आफ्नो कोठामा नआएको भनी कागज गर्नुभएको थियो। महराले पनि आफू त्यहाँ नगएको बयानमा उल्लेख गर्नुभएको थियो। महरा गत असोज १३ गते ती महिलाको कोठमा गएको आरोप लागेको थियो।

आफूलाई जबर्जस्ती करणी गरेको आरोपमा संसद् सचिवालयकी महिला रोशनी शाहीले प्रहरीमा जाहेरी दिनुभएको थियो। पछि शाहीले त्यसको ठीकविपरीत हुने गरी अदालतमा कागज गर्नुभएको थियो।
जिल्ला अदालत र उच्च अदालत, पाटनले महरालाई थुनामा राख्दा रोशनीको कोठाबाट हतार–हतार निस्कदा जुत्ताको तलुवा छुटेको, घटनास्थलमा भेटिएको चस्माको सिसा र महराले लगाएको चस्माको सिसाको पावर एउटै भएको लगायतका प्रमाणलाई आधार बनाएको थियो। नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले बलात्कारको आरोप लागेपछि महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब दिएको थियो। तर, उहाँले सभामुखबाट मात्र राजीनामा दिनुभएको थियो। अदालतबाट सफाइ पाएपछि उहाँ अब प्रतिनिधि सभामा अन्य सदस्यजस्तै उहाँले भाग लिन पाउनुहुनेछ। सरकारले भने महरालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिने सम्बद्ध स्रोतले नेपाल समाचारपत्रलाई बतायो।

 

नेताको वाचा भयो पूरा

दबाबपूर्ण रूपमा उपसभामुखको पदबाट राजीनामा गराइएकी डा. शिवमाया तुम्बाहाम्फेलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता पूरा गर्नुभएको छ। नेकपाले उहाँलाई पार्टीको केन्द्रीय सदस्यमा समेत मनोनित गरेर पुरानो जिम्मेवारीलाई निरन्तरता दिइसकेको छ।

सरकारबाट समाजवादी पार्टीको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियो। उपसभामुख पदबाट राजीनामा घोषणा गरेसँगै तुम्बाहाम्फेले नयाँ भूमिकामा देखापर्ने घोषणा गर्नुभएको थियो। सोहीअनुरूप राष्ट्रिय जनता पार्टी तत्काल सरकारमा सहभागी नहुने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई कानुनमन्त्रीमा नियुक्त गर्नु भएको हो।

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाम्फेले सोमबार पदभार सम्हाल्नुभएको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कानुनमन्त्री तुम्बाहाम्फेले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।

अधिकारकर्मी तुम्बाहाम्फे

नवनियुक्त कानुनमन्त्री डा. तुम्बाहाम्फेको जन्म २०२० साल माघ ४ गते तेह्रथुमको तम्फुला, माझगाउँ (हालको म्याङलुङ नगरपालिका–१०) मा भएको थियो। काठमाडौंको नेपाल ल क्याम्पसबाट बीएल, महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बीएड र त्रिविबाट राजनीतिशास्त्रमा एमए गर्नुभएको छ।

उहाँले ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा २०६४ मा पीएचडी गर्नुभएको हो। ०३५/०३६ सालदेखि राजनीतिमा लाग्नुभएकी शिवमायाले ०३९ र ०४२ सालमा जेलजीवन पनि बिताउनुभएको थियो। अनेरास्ववियुको अध्ययन दल, सहप्राक, प्राक हुँदै केन्द्रीय कमिटीको महिला विभाग प्रमुख र उपाध्यक्ष भई काम गरेकी तुम्बाहाम्फेले विभिन्न संघ÷संस्थामा आबद्ध हुँदै लामो समय महिला अधिकारको क्षेत्रमा काम गर्नुभएको छ।

नेपालमा मानव अधिकारको क्षेत्रमा राम्रो काम गरेकाले दयाराम परियार स्मृति मानव अधिकार सम्मान र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै श्री मोहनलाल मनोरम स्मृति वाणी सम्मान ०६७ र नेपाल विद्याभूषण आदि सम्मानहरू प्राप्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्