नेपालमै जडिबुटी प्रशोधन केन्द्र खोल्न आचार्यको आग्रह



हेटौंडा, (नेस)।

आयुर्वेदका ज्ञाता तथा पतञ्जलि योगपीठका आचार्य बालकृष्णले नेपालमा रहेका बहुमूल्य जडीबुटी अन्यत्रबाट किनेर त्यसबाट आफूहरुले औषधी बनाएर नेपालमा पठाइरहेको बताउँदै नेपालमै उद्योग वा प्रशोधन केन्द्र खोल्नसके देशले बढी आम्दानी गर्नसक्ने उल्लेख गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँगको भेटमा उहाँले नेपालका बहुमूल्य जडिबुटीको अवैज्ञानिक दोहन भइरहेको बताउनुभयो । जडिबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा वृक्षरोपण वा त्यसको वृद्धि/विकासका कुनै काम नभएको उहाँको भनाइ थियो । त्यसो हुँदा अघिल्लो वर्ष प्रशस्त पाइरहेका जडिबुटी अर्को वर्ष कम र अझ अर्को वर्ष झन कम हुँदै गएको पाइएकोले यसतर्फ सोच्न जरुरी रहेको उहाँको धारणा थियो ।

मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वचर्चित बन्न सफल भएकोमा आचार्यप्रति आफूहरुले गर्व गर्ने गरेको बताउनुभयो ।

पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको सम्बृद्धिमा प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश सरकार प्रदेशको जडिबुटी अध्ययन/अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकोले लगानी भित्र्याउन अनुरोध गर्नुभयो । आयुर्वेदमा नेपालीको विश्वास बढ्दै गएको सन्दर्भमा यसको महत्व बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्