बागमतीले बल्ल पायो भौतिक पूर्वाधार मन्त्री



हेटौंडा, (नेस)।

लामो कसरतपछि बागमती प्रदेशले भौतिक पूर्वाधार विकास मन्त्री पाएको छ । काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ बाट निर्वाचित नेकपाका सचेतक रामेश्वर फुयाँलले सोमबार हेटौंडामा मन्त्री पदको सपथ खाएसँगै केशब स्थापितको बहिर्गमनपछि मुख्यमन्त्री आफैंले सम्हालेको मन्त्रालयले मन्त्री पाएको हो ।

नवनियुक्त भौतिक पूर्वाधार तथा योजना मन्त्री फुयाँललाई बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंले शपथग्रहण गराउनुभएको थियो । शपथग्रहण कार्यक्रम प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीसहित प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीको उपस्थिति थियो ।

माघ २९ गते अन्तिम समयमा आएर फुयाँलको सपथग्रहण तत्कालका लागि स्थगित गरिएको थियो । भौतिक पूर्वाधार मन्त्रीको सपथ माघ २९ गते ४ बजेका लागि तोकिएको थियो । तर, त्यतिबेला पार्टी ‘निर्देशन’ अनुसार सपथ रोकिएको थियो ।

शपथग्रहणका लागि गोप्यरुपमा प्रदेश प्रमुखको कार्यालयमा जानकारी दिइएको थियो । नेकपाकै धेरैजसो प्रदेशसभा सदस्य र प्रदेशका मन्त्रीहरुलाई सोमबार विहानसम्म उक्त विषयमा जानकारी थिएन ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई मन्त्री बनाउने टुंगो आइतबार काठमाडौंमा लगाएपछि फुयाँल साँझ हेटौंडा आउनुभएको थियो । पार्टीका केन्द्र र प्रदेशका नेताहरुसँगको लामो परामर्शपछि उहाँलाई प्रदेशको सबभन्दा ठूलो मन्त्रालयको जिम्मा दिइएको हो । प्रदेशको झण्डै आधा बजेट त्यही मन्त्रालयमा छ ।

२०७४ माघ २९ गते पद तथा गोपनियताको सपथ लिनुभएका मन्त्री केशब स्थापितलाई २ सय ६४ दिनपछि पदबाट २०७५ कात्तिक १६ गते शुक्रबार हटाइएको थियोे । मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी उहाँको मन्त्रालयको जिम्मेवारी आफैंले लिएको ४ सय ७२ दिनमा उक्त मन्त्रालय फुयाँलको जिम्मा लगाउनुभएको छ ।

संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्नुभएको हो । बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि नै फुयाँल मन्त्री बन्ने चर्चा थियो ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–२ घर भएका फुयाँल प्रशासनिक यात्रापछि पूरै समय राजनीतिक क्षेत्रमा होमिनुभएको छ । त्यतिबेलाको सरकारले कर्मचारी भएर आन्दोलन गरेको भन्दै उहाँलाई निलम्बन गरेको थियो ।

२०३८ चैत २९ गते बहिदार पदबाट सरकारी जागिर सुरु गर्नुभएका फुयाँल, मुखिया, खरिदार, नायब सुब्बा हुँदै अधिकृतमा नाम निकाल्न सफल हुनुभएको थियो । २०४४ सालमा बडा लेखापाल र अधिकृतमा एकैपटक नाम निकाले पनि कर्मचारी आन्दोलनमा लागेकै कारण उहाँले ४ वर्ष पनि सरकारी जागिर खान पाउनुभएन ।

फुयाँल राजनीतिक क्षेत्रमा गाउँपालिका अध्यक्ष, सभासद्, सांसद् हुँदै यसपटक भने मन्त्री बन्नुभएको हो । उहाँ २०४९ मा काठमाडौंको आलापोट गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०५४ सालमा गाविस चुनाबमा उहाँ अध्यक्ष निर्वाचित हुनुभयो । पछि काठमाडौं जिल्ला विकास समितिको उपसभापति हुनुभयो ।

२०७० सालको संविधानसभा चुनाबमा उहाँ निर्वाचित हुनुभएको थियो । २०७४ को प्रदेशसभा चुनाबमा काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ बाट फुयाँल निर्वाचित हुनुभयो ।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका फुयाँलको राजनीतिक यात्रा लामो छ । फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य हुनुभयो । २०४३ देखि जिल्ला तहको संगठनमा बसेर काम पनि गर्नुभयो ।

२०४७ मा काठमाडौं जिल्ला कमिटी एमालेको उपसचिवका रुपमा काम गर्नुभयो । २०५४ फागुन २१ गते काठमाडौं जिल्ला कमिटी सचिव बन्नुभयो । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनपछि २०६५ मा उहाँ केन्द्रीय सदस्य बन्नुभएको थियो ।

मन्त्री फुयाँलले भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । शपथग्रहणपछि पत्रकारसँग उहाँले प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको सुरुङमार्ग निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले प्रदेशको विकासमा दिनरात नभनी काम गर्ने भन्दै अबको तीन महिनामा परिणाम देखिने गरी कार्य अघि बढ्ने बताउनुभयो । प्रदेश सरकारका योजनालाई चुस्तदुरुस्त पार्न कार्य अघि बढाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्