बिओपी स्थापना गरिने गागा क्षेत्रको उपप्रधानमन्त्री पोखरेलद्वारा हवाई निरिक्षण



किरन धामी,दार्चुला ।

सशस्त्र प्रहरी बलको (बिओपी) स्थापना गर्न सिफारिस गरिएको दार्चुलाको ब्याँस गाउँपालिका‐१ मा पर्ने गागा क्षेत्रको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार हवाई निरिक्षण गर्नु भएको छ ।

ब्याँस गाउँपालिका अन्र्तगत पर्ने भारतले मिचेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुराको स्थलगत अनुगमन तथा निरिक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट सोमबार विहान त्यसतर्फ प्रस्थान गरेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल नेतृत्वको टोली सशस्त्र प्रहरीको बिओपी स्थापना गरिने गागा क्षेत्रको हवाई निरिक्षण गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुथान पौडेलले जानकारी दिनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमा अवस्था बारे निरिक्षण गर्न गएको टोली उक्त क्षेत्र नपुगी फर्किएको छ । बाक्लो हिउँ जमेका कारण हेलिकप्टर अवतरण गर्न समस्या भएका कारण उपप्रधामन्त्री नेतृत्वको टोली गागा छाङ्गरु क्षेत्रबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी बताउनुभयो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल नेतृत्वको अनुगमन टोलीमा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सांसद द्वय मानबहादुर धामी र गेल्बु सिंह बोहरा रहनु भएको थियो ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल गागा क्षेत्रको हवाई निरिक्षणबाट फर्किए लगत्तै प्रेस सेन्टर दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइने बताउनु भएको छ ।

नेपाल सरकार मन्त्री परिषद स्तरीय बैठक बसी दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय हुन बाकी रहेको तथा अन्य कामहरु पक्रियामा रहेको मन्त्री पोखरेलले बताउनुभयो । साथै उहाले गागा क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्न आवश्यक बन्दोबस्तीका सामाग्री खरिद गरिसकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ । मन्त्री पोखरेल सोमबार दिउँसो १२ः२० बजे दार्चुलाबाट काठमाण्डौँ फर्किसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्