खेलकुुदसँगै उत्पादनमा लाग्न आग्रह



अमृत अर्याल ,स्याङजा।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले खेलकुद सँगै उत्पादनमा पनि लाग्न युवाहरुलाई आग्रह गर्नुभएको छ । गल्याङ नगरपालिका वडा नम्बर २ मा इलुङ्गा खेल समितिले तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको क्लब स्तरीय भलिबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रमको समापनका अवसरमा उहाँले खेलसँगै उत्पादनमा जोडिन युवाहरुलाई आग्रह गर्नुभएको हो ।

नगरप्रमुख अधिकारीले गाउँगाउँमा युवाहरुको संख्या कम हुँदै गएको र बैदेशिक रोजगारीका कारण कतिपय ठाउँमा घरबार विग्रिएको प्रसङ्ग निकाल्दै आफ्नै देशमा उत्पादनमूलक काममा लाग्नुपर्ने बताउनुभयो । कृषि र अन्य कामहरुका बारेमा ग्रामिण क्षेत्रमा हुने कार्यक्रममा जेष्ठ नागरिक र बालबालिका मात्रै हुने गरेको भन्दै उहाँले युवाहरु उत्पादनमा जोडिएर यो अवस्थाको छिट्टै अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख अधिकारीले आफ्नै देशमा स्वरोजगारी र रोजगारी सिर्जना नगर्दासम्म सम्बृद्वि आउन नसक्ने भन्दै त्यसका लागि युवाहरु नै क्रियाशिल हुनुपर्ने बताउनुभयो । गल्याङ नगरपालिकाको आफ्नै संरचना बनाउनुपर्ने भएकाले खेल क्षेत्रमा चाहिएजति रकम खर्च गर्न नसकिएको भन्दै उहाँले स्थानीय जनताका आकांक्षा पुरा गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष इवप्रसाद कर्माचार्यले खेलको माध्यमबाट युवाहरुलाई एकजुट बनाउन सकिने भन्दै एकताबद्व भएर नगरपालिकालाई सम्बृद्व बनाउनुपर्ने बताउनुभयो ।

सोही अवसरमा नगरप्रमुख अधिकारी सहित गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, वडा नम्बर २ का अध्यक्ष इवप्रसाद कर्माचार्य, वडा नम्बर ४ का अध्यक्ष नेत्रप्रसाद पाण्डेले विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्