सप्तकोशीको जेटबोट बन्द, यात्रुलाई सास्ती



सरोज यादव, विराटनगर । 

सप्तकोशी नदीमा चल्दै आएका जेटबोटहरु अनिश्चितकालका लागि बन्द गरिएपछि यात्रुहरु मारमा परेका छन् ।

घण्टौं लाग्ने ठाउँमा केही मिनेटको यात्रामै पुग्ने गरिएकोमा जेटबोट बन्दा भएपछि समस्या भएको यात्रुहरुको गुनासो छ । पैदल तथा यात्रु बसमा जानुपर्दा घण्टौं लाग्ने धनकुटा, भोजपुरलगायतका ठाउँमा सुनसरीको चतराबाट जेटबोट चढेर केही मिनेटको जलयात्रामै पुग्न सकिन्थ्यो । जसका कारण कोशीमा जोटबोड चल्न थालेपछि त्यस क्षेत्रका बासिन्दाले जेटबोटलाई नै यात्राको मुख्य माध्यम बनाएका छन् । छोटो समयको यात्रामै ओहोरदोहोर गर्न सकिने भएकाले स्थानीयलाई निकै सहज हुने गरेको थियो । तर असुरक्षा भएको भन्दै सञ्चालकले जेटबोट बन्द गरेपछि यात्रुहरु समस्यामा परेका छन् ।

विभिन्न कम्पनीमार्फत जेटबोट सञ्चालन गर्दै आएका सञ्चालकहरुले बुधवार एक बिज्ञप्ति जारी गर्दै असुरक्षा भएकाले अनिश्चितकालका लागि जेटबोड बन्द गराउनु परेको उल्लेख गरेका छन् । नदी किनारामा केही स्थानीयबासी भन्नेहरुले हुलहुज्जत गर्दै कमिशनको माग गर्ने गरेको, बिना टिकट यात्रा गर्ने गरेको, रोजगारी माग्ने गरेको र अनाधिकृत बुकिङ लगायतका माग राखी जेटबोड सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नुपरेको उनीहरुको भनाइ छ । केही ठाउँमा पर्यटकहरु बोकेको समयमा समेत स्थानीय केहीले रोकेर अवरोध पु¥याएकाले जेटबोटको सेवा बन्द गर्नु परेको जेटबोटका सञ्चालक विमलमान श्रेष्ठले बताउनुभयो । अहिले सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा गरी चार कम्पनीका सप्तकोसीमा ६ वटा जेटवोड छन् । तर जेटबोट बन्द हुँदा दैनिक ५ सय यात्रु प्रभावित भएको बताइएको छ । १८ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट कोशीमा छन् । जसले तराई र पहाडको दूरी जलमार्गबाट घटाएर पर्यटनमा समेत टेवा दिंदै आएका छन् ।

खासगरी पूर्वी पहाडमा यात्रा गर्नुपर्ने यात्रुहरु तथा जलयात्राको मजा लिन चाहने पर्यटकहरु जेटबोड बन्द हुँदा निराश भएर फर्कने गरेका छन् । सो ठाउँमा बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टस प्रालिले सात वटा जहाज सञ्चालन गर्दै आएका छन । सप्तकोसीमा दुई वर्षअघि पानीजहाज परीक्षण गरी सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेको थियो ।

सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सातवटा पानीजहाज चल्दै आएका छन् । चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई बोटजहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो भने पर्यटकलाई समेत सहज भएको थियो । तराई झर्ने र पहाडतर्फ जानेहरू हिँडेर जाँदा निकै लामो समय लागे पनि भोजपुरको सिम्लेसम्म १२ देखि १५ मिनेटमा पुग्न सकिन्छ । जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी तथा बैज्ञानिक र बैधानिक भाडा निर्धारण भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्