रेडियो नाटकका लेखक गर्तौलाको निधन



न्यूज अफ नेपाल, काठमाडौं । 

रेडियो नाटकका लोकप्रिय लेखक तथा निर्माता कुवेर गर्तौलाको निधन भएको छ।

गर्तौलाको उपचारका क्रममा आज सोमवार दिउँसो मित्रपार्कस्थित दीर्घायु अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको हो। उनलाई गत शनिवार ब्रेन ह्यामरेज भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको अहिले पशुपतिस्थित विद्युतीय शवदाहमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ। उहाँको परिवारमा दुई छोरा र बुहारी रहेका छन्। उनको एक छोरोको केही समयअघि निधन भएको थियो।

उनी रेडियोको नाटक लेखन र निर्माणमा पारंगत तथा लोकप्रिय थिए। उनको जमानामा रेडियो नाटक लेखनको क्षेत्रमा उनीसँगै दामोदर घिमिरे, जितेन्द्र महत अभिलाषी, श्यामदास वैष्णव र बिबी सिंहले लोकप्रियता कमाएका थिए। मेघा रेडियो सिीरज घाँटी हेरी हाड निलौंका लेखक तथा निर्माता गर्तौलाले दर्जनौं रेडियो नाटकका साथमा उजेली नामक टेलिचलचित्र लेखेका थिए।

जनक शिक्षा सामग्री केन्द्र खुलेपछि पाठ्यक्रम तथा पाठ्पुस्तक शाखामा रहेर रेडियो नेपालका लागि नाटक लेखी निर्माण गर्दै आएका उनलाई शैक्षिक कार्यक्रमको संस्थापक सदस्य थिए। जनक शिक्षा सामग्री केन्द्रमा ३० वर्ष सेवा गरेर अवकाश लिएका उनले रेडियो र रंगमञ्चीय नाटकका लागि समेत प्रशिक्षण दिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्