सामाजिक सञ्जालका अपाच्य शब्द



सामाजिक सञ्जाल पनि अहिले एक आमसञ्चारमाध्यमको रूपमा विकास भएको जस्तो देखिएको छ। तर फेसबुक, ट्वीटर आदिमा प्रयोग गरिने शब्दले समाजमा निकै नकारात्मक असर पारिरहेको छ। अहिले छ्याप्छ्याप्ती खुलेका अनलाइन सञ्चारमाध्यमसमेत सन्तुलित नभएको, कसैप्रति पूर्वाग्रही भएको, कसैप्रति बढ्ता भक्ति गरेको देखिएको छ। यस्ता सञ्चारमाध्यप्रति सचेत पाठकहरूले निरन्तर खबरदारी गरिरहनुपर्छ। र, नियमनकारी निकायले गलत काम गर्ने र समाजमा नकारात्मक सन्देश दिनेलाई अंकुश लगाउन सक्नुपर्छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका समाचारमा गरिने कमेन्टहरूको अध्ययन गर्दा सकारात्मक शिक्षा, सुझाव एवं सिर्जनात्मक आलोचनाहरू मात्रै भेटिँदैन, यसमा हाम्रो समाजको सांस्कृतिक स्तर पनि यदाकदा प्रकट हुने गरेको पाइन्छ। नकारात्मक कुराहरू पनि छरपस्ट भएका हुन्छन्। कतिपय पाठकले राम्रो कमेन्ट गर्दागर्दै पनि केही त्यस्ता शब्दहरू घुसाउनुभएको हुन्छ, जसका कारण कमेन्ट ‘शो’ हुन गाह्रो पर्छ। त्यसपछि आफ्नो कमेन्ट ‘शो’ नभएको झोकमा अश्लील गालीहरूको पनि बर्सात हुने गर्छ।
अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमले गाली र आक्रोश पोखेको पाइन्छ। धोती, खाते र भालुजस्ता शब्दहरू बढी प्रयोग भएका छन्। कतिपय पाठकले कसैलाई गाली गर्नुपरेमा यी शब्दहरू अक्सर प्रयोग गर्ने गरेको समाजिक सञ्जालमा प्रस्ट देखिन्छ। विशेष गरी मधेसी मूलको व्यक्तिलाई धोती, नेता वा कुनै व्यक्ति विशेषलाई खाते र महिलालाई भालु भन्ने गरिएका कमेन्टहरू जताततै आउने गरेका छन्। धोती आफैंमा नराम्रो शब्द होइन तर यसलाई नकारात्मक रूपले प्रस्तुत गर्दागर्दै यो शब्द फरक ढंगले प्रस्तुत हुन्छ। पहाडे बाहुनले खाना खाँदा मात्रै होइन, अनेक शुभकर्ममा धोती नलगाई सुखै छैन। अझ आशौच बार्दा राष्ट्रिय पोशाकरूपी सुरुवाल लगाउन पाइन्न, १३ दिनसम्म धोतीकै भरमा इज्जत धान्नुपर्छ। तर, पहाडे मूलको मानिसले मधेसी समुदायको मानिसलाई हेपेर भन्ने शब्दका रूपमा ‘धोती’लाई प्रयोग गर्न शुरू गरेपछि यो शब्दको फरक व्याख्या हुँदै छ। त्यसैले यो पदावलीको प्रयोग गरेर कसैलाई धोती भन्नु भनेको विभेदकारी व्यवहार हो।
सामाजिक सञ्जालमा पहुँच जमाउन सक्ने तपाईं–हामीजस्ता आधुनिक मान्छेले सामन्ती समाजबाट पैंचो ल्याइएको ‘धोती’ भन्ने शब्दको प्रयोग गरेर मधेसी समुदायका हामीजस्तै नेपालीमाथि अपमान गर्नेलाई सरकारले पनि केही गर्न सकेको छैन। यसले साम्प्रदायिकतामा पनि असर पर्ने समस्या आउन सक्छ। त्यति मात्रै हैन, कसैलाई गाली गर्दा हामी ‘खाते’ भन्छौं भने यो सामन्तवादको अर्को उदाहरण बन्ने गर्छ। हामी कति अमानवीय र दानवजस्ता छौं भन्ने ‘खाते’ शब्दको प्रयोगबाट थाहा हुन्छ। ‘खाते’ भन्ने शब्दको बाहिरी अर्थ सडक बालबालिका भन्ने बुझिन्छ। ती सडक बालबालिका निर्दोष र अबोध छन्। उनीहरू आफ्नो गल्तीले सडकमा पुगेका हैनन्, उनीहरू त्यस्तो हुनुमा प्रौढ मानिसको दोष छ। समाजलाई मानवीय बनाउने हो भने हामीले त खातेलाई माया गर्न सिक्नुपर्छ तर हामी उल्टो व्यवहार गरेर त्यो शब्दलाई अपमान गरिरहेका छौं।
त्यति मात्रै होइन, महिलालाई गाली गर्दा प्रयोग हुने अर्को शब्द व्यापक चलेको छ। महिलालाई कुनै कमेन्ट गर्नुप¥यो भने केही पाठकले यो ‘आइमाई भालु हो’ भन्ने शब्द प्रयोग गर्ने गरेको बढी पाइन्छ। यो पदावलीमार्फत कुनै महिलालाई ‘वेश्या’ भन्न खोजिएको हो। त्यो मर्द भनाउँदो पुरुषले के विचार गर्नुपर्छ भने, एकजना महिला ‘वेश्या’ हुनका लागि दुई वा दुईभन्दा बढी पुरुषहरू ‘वेश्या’ हुनै पर्छ। पुरुषविना महिला मात्रै एक्लै ‘वेश्या’ हुन सक्दिनन्। त्यसैले महिलालाई आलोचना गर्दा प्रयोग गरिने यस्तो शब्दले ती महिलालाई हैन, कमेन्ट गर्ने पुरुषको सांस्कृतिक स्तर कति दरिद्र छ भन्ने प्रस्ट हुन्छ। यो शब्द लिंगीय विभेदजन्य हो। यस्ता शब्द प्रयोग गर्नेलाई रोक्न सरकारले पनि दण्डको व्यवस्था गर्नु जरुरी छ।
गरिबहरूलाई खाते भन्ने र ‘राजाको काम छाडी कामीको देवाली’ भन्नेजस्ता दलितलाई हेप्ने नियतले उखान टुक्काहरू सिर्जना गर्ने काम सामन्तवादी साहित्यले पनि गरिरहेको छ। तर अब हामी सामन्तवादबाट पुँजीवादी सभ्यतातिर उक्लन लागेका बेला यस्ता जातीय, क्षेत्रीय, लिंगीय एवं वर्गीय विभेदजन्य शब्दहरूको प्रयोगबाट बाहिर निस्कनु जरुरी छ। सामाजिक सञ्जालमा आउने कमेन्टहरू हेर्दा कतिपय पाठकले नेतालाई पनि निकै अपशब्द प्रयोग गरेर गाली गरेको देखिन्छ। यो पनि एउटा घिनौनी दृष्टान्त नै हो। कमेन्ट गर्दा खाते, धोतीजस्ता शब्दहरू प्रयोग गर्ने प्रवृत्तिले नेपाली समाजलाई सही बाटोमा लग्दैन।
– हेमराज ढुङ्गाना, सर्लाही।

 

प्रतिक्रिया दिनुहोस्