बाँसबारीलाई १० लाखको प्रायोजन



काठमाडौं, (नेस)

बी डिभिजन लिग फुटबल क्लब बाँसबारीलाई अराउन्ड दि हिमालयज प्रालिले १ वर्षका लागि प्रायोजन गर्ने भएको छ। आइतबार भएको पत्रकार सम्मेलनमा बाँसबारीका अध्यक्ष प्रेम थापा र हिमालयजका कार्यकारी निर्देशक सुदामा कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

१० लाख नगदको प्रायोजनपछि क्लबको नाम अगाडि अराउन्ड दि हिमालयज राख्नुपर्ने सर्त रहेको छ। त्यस्तै, हरेक खेलमा खेलाडीले लगाउने जर्सीमा प्रायोजकको लोगो अंकित हुनेछ।

बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले क्लबलाई ए डिभिजनमा उकास्ने लक्ष्य लिएको बताए। यही फागुनको दोस्रो सातादेखि शुरू हुने बी डिभिजन लिगका लागि अनुमानित बजेट ३५ लाख रहेको पनि जनाएको छ। यस्तै, बाँसबारीलाई काठमाडौं महानगरपालिकाले ३ लाख तथा एन्फाले तयारीस्वरूप १० लाख नगद सहयोग गर्नेछ।

टोलीमाः– युगलकिशोर राई (मुख्य प्रशिक्षक), अन्जन देवकोटा (कप्तान), टंकप्रसाद गुरुङ, सुलेमान थापामगर, अनिल गुरुङ, अनुज भण्डारी, अमृत श्रेष्ठ, भीष्मराज घिमिरे, शिव गुरुङ, निशान सुनार, सजिन थापामगर, सुरेश कुमाल, विशाल स्याङे्तान, सुदिश जबेगु, केशव खड्का, विपिन गुरुङ, रोशन नेपाल, संजय सुब्बा, अजय राजवंशी, दिपांशु राउतलगायतका खेलाडी छन्।

प्रतिक्रिया दिनुहोस्