गणेशमान सिंह स्मृति बक्सिङ चैतमा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी चैतमा हुने भएको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

 

काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी गरी कुल ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

जसमा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए।
प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिने भएको छ। प्रदेश–१ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ।

यस्तै, प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ। प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ।

जिल्ला स्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्