लिभरपुलको अपराजित यात्रा कायमै



लन्डन, (एजेन्सी)

जारी सिजनको इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

अपराजित हुने क्रममा मर्सिसाइड क्लब लिभरपुलले शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो। जितसँगै लिभरपुलको २६ खेलबाट ७६ अंक पुगेको छ। लिभरपुलले २५ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ। अब लिभरपुललाई उपाधि जित्न बाँकीका १२ खेलमध्ये मात्र ५ खेलमा जित आवश्यक रहेको छ।

लिभरपुलको जितमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका साडियो मानेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। मानेले ७८औं मिनेटमा गोल गरेका थिए। कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। उनी ६०औं मिनेटमा एलेक्स अक्सलेड चेम्बरलेनको स्थानमा मैदान छिरेका थिए।

चोटका कारण पछिल्लो दुई खेल गुमाएका मानेले मैदान फर्कंदै गोल गर्न सफल रहे। लिभरपुलसँग पराजित नर्विच २६ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको पुछारमा रहेको छ। त्यस्तै, अर्को खेलमा बर्नलेले साउथह्यामप्टनलाई २–१ ले पराजित गर्दै तीन अंक बटुल्यो। बर्नलेको जितमा वेस्टउडले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए। तर, खेलको १८औं मिनेटमा साउथह्यामप्टनका इंग्सले बराबरी गोल फर्काएका थिए।

खेलको ६०औं मिनेटमा भिड्राले गोल गर्दै बर्नलेको जित सुनिश्चित पारे। जितसँगै बर्नलेको २६ खेलबाट ३४ अंक पुगेको छ। यता पराजित साउथह्यामप्टनको समान खेलबाट ३१ अंक छ।

बार्सिलोना विजयी
क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा गेटाफेविरुद्ध विजयी बनेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–१ को संघर्षपूर्ण जित हासिल गरेको हो। जितसँगै बार्सिलोनाले २४ खेलबाट ५२ अंक जोडेको छ। समान खेलबाट गेटाफेको ४२ अंक रहेको छ। बार्सिलोनाको जितमा एन्टोइन ग्रिजम्यान र सर्जी रोबर्टोले गोल गरेका थिए।

गेटाफेका लागि भने एन्जल रोड्रिगेजले एक गोल फर्काए। नोउ क्याम्पमा खेलको ३३औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले कप्तान लियोनेल मेसीको पासमा गोल गर्न सफल भएका थिए।

३९औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म २–० को अग्रता दिलाए। खेलको ६६औं मिनेटमा रोड्रिग्वेजले जेमी माटाको पासमा गोल गर्दै गेटाफेलाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले २–१ को कठिन जित निकाल्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्