महराको मुद्दाको अन्तिम फैसला आज



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्व सभामुख कृष्णबहादुर महराको बलात्कारसम्बन्धी मुद्दामा अदालतले सोमबार अर्थात आज फैसला सुनाउने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको अन्तिम सुनुवाइ आईतबार सकिएको हो ।

महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो । फैसला सोमबार अर्थात आज आउने सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिनुभएको छ।

आइतबार अदालतमा महराको तर्फबाट आठ वकिलले बहस गरेका थिए । अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैलानी, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका हुन् । माघ २६ गते अन्तिम सुनुवाई भएको मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सुनुवाइ सुरु भएको हो । सरकारी वकिलको बहस यसअघि नै सकिएको थियो ।

उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो । जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि उसले जिल्लाकै आदेश सदर गरेको थियो ।

अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूमाथि करणी प्रयास नगरेको दाबी गरेकी थिइन् । उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन् ।

तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो । महराले गत असोज १२ गते शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको छ।

उक्त आरोपपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए भने १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए। महरा हाल काठमाडौंको डिल्लीबजार कारागारमा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्