पुरातात्विक महत्वका मानेको मर्मत



चिरञ्जीवी मास्के, दोलखा । 

सदरमुकाम चरिकोटमा रहेको पुरातात्विक महत्वको झन्डै दुई सय वर्ष पुरानो माने संरक्षणका लागि भिमेश्वर नगरपालिकाले सहयोग गरेको छ।

नगरपालिकाको सहयोगमा चरिघ्याङ टोल सुधार समितिले चरिकोट चरिघ्याङमा रहेको मानेको पुरातात्विक महत्वका साथ मर्मत थालेको टोल सुधार समितिका अध्यक्ष दावाकर्मा लामाले बताउनुभयो।

माने जीर्ण भएपछि केही समयअघि सिमेन्ट प्लास्टर गरेर मर्मत गरिएको थियो। तर, अहिले पुरातात्विक महत्वका साथ मर्मत गर्न पहिले लगाइएको सिमेन्ट निकालेर ढुंगा देखिने गरी मर्मत गरिएको टोल सुधार समितिका अध्यक्ष दावाकर्मा बताउनु हुन्छ।

ऐतिहासिक दोलखा शहर छुट्टै राज्य हुँदा राजा हायहायको राज्य कालमा लामालाई असिना रोक्न दोलखा ल्याइएको र लामाले दोलखा फोहोर भएकोले बस्न नचाहेपछि चरिघ्याङ डाँडामा लामालाई राखिएको इतिहास छ।

त्यसरी चरिघ्याङमा बस्न आएका लामा जातिले आफ्ना कोही आफन्तको मृत्युमा घेवा गर्ने क्रममा बनाएको मानेलाई नगरपालिकाको सहयोगमा पुरातात्विक महत्वका साथ मर्मत गरिएको टोल सुधार समितिका अध्यक्ष दावा कर्माले बताउनुभयो।

चरिघ्याङमा रहेका ६ वटा मानेहरूमध्ये एउटा माने २ सय वर्षभन्दा पुरानो रहेको र अन्य मानेहरू पनि एक सय वर्षभन्दा पुरानो रहेको दावा कर्माको भनाइ छ। माने मर्मतका लागि भिमेश्वर नगरपालिका वडा–३ ले दुई लाख र वडा–६ ले दुई लाख ५० हजार सहयोग गरेको टोल सुधार समितिले जनाएको छ।

लामाहरूमा कुनै आफन्तको मृत्यु हुँदा मृत्यु भएको २१ वा ४९औं दिनमा घेवा गर्ने प्रचलन रहेको र सो क्रममा मृतकको नाममा माने बनाइने गरिएको लामा समुदायका ज्येष्ठ नागरिकहरूको भनाइ छ।

चरिघ्याङमा रहेको मानेहरू दुई सय वर्षभन्दा पुराना भएकोले त्यसलाई पुरातात्विक महत्वका साथ पहिलेजस्तो अवस्थामा बनाइएको थियो त्यसरी नै मर्मत गर्न नगरपालिकाले सहयोग गरेको भिमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्